सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ जीवनशैलीका लागि योगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
पतञ्जलि योग समिति सुर्खेतले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, वीरेन्द्रनगर नगरपालिका र ग्लोबल आईएमई बैङ्कको सहयोगमा दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर आयोजित सप्ताह व्यापी बृहत् योग, ध्यान तथा स्वास्थ्य परीक्षण शिविरको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले योगका माध्यमबाट स्वस्थ शरीरसँगै स्वस्थ विचारले समाजलाई सुसंस्कृत तथा समुन्नत बनाउन मद्दत पुग्ने विश्वस्त व्यक्त गरे।
उनले विज्ञान र प्रविधिको विकासले मानव जीवनमा सकारात्मकसँगै केही नकारात्मक विचारहरू सँगसँगै बोकिरहेकाले योग, ध्यान र आधात्मकताका माध्यमबाट नराम्रा आनीबानी, व्यवहार हटाउँदै अनुशासित जीवन बिताउन मद्दत पुग्ने बताए । नेपाल तपोभूमि र देवो भूमिकारुपमा विश्वसामु चिनिएकाले आयुर्वेदका माध्यमबाट कर्णालीलाई सबल र समृद्ध बनाउन सबै जुट्नुपर्ने बेला आएको उनको भनाइ थियो । उनले योग र आयुर्वेदका माध्यमबाट स्वस्थ समाज निर्माणका लागि निरन्तर सहकार्य गर्दै सबैसँग हातेमालो गरेर प्रदेश सरकार अघि बढ्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय योग दिवसलाई सप्ताहव्यापी रूपमै मनाउनका लागि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर शंकरप्रसाद रिजाल संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको पतञ्जलि योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।
वीरेन्द्रनगरको खुला चौरमा जारी निःशुल्क योग, ध्यान तथा स्वास्थ्य शिविरमा चर्चित साध्वी देवकृपाले दैनिक करिब एक हजार नागरिकलाई प्रशिक्षण दिइरहेएका छन् । योग, ध्यान शिविरमा कर्मचारी, राजनीतिक दलका नेता, सुरक्षाकर्मीसँगै आम नागरिकको सहभागिता रहेको छ ।