डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने एक प्रकारको सरुवा रोग हो । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।
डेंगुको संक्रमण भएको कसरी थाहा पाउने ?
- उच्च ज्वरो आउन
- अत्याधिक टाउको दुख्नु
- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
- आँखाको गेडी दुख्नु
- वाकवाकी लाग्नु
- दिशा पातलो हुने
डेंगु संक्रमणका लागि सरकारी प्रयास के आवश्यक ?
दिनप्रतिदिन बढ्दै गइरहेको डेंगुको संक्रमण रोक्नका लागि सरकारले गर्नुपर्ने महत्वप्रूर्ण काम जनचेतना फैलाउनु नै हो ।
जनताहरुलाई घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी नै डेंगु गराउने लामखुट्टेको बासस्थान हो भनि बुझाउन सक्नुपर्छ । डेंगु संक्रमण रोक्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ भन्ने प्रचार व्यापक रुपमा जनस्तरमा गर्नु आवश्यक छ । घरमा बस्ने मानिसहरुको दिउँसो सुत्ने बानी हुन्छ उनीहरुलाई सुत्दा झुल प्रयोग गर्नका लागि सल्लाह दिनुपर्ने हुन्छ । त्यस्तै झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ ।
कसरी बँच्ने रु
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
डेंगुको उपचार के ?
डेंगुको लागि भनेर खासै औषधि हालसम्म बनिसकेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
(फिजिसियन डा. ज्योतिस चन्द्र झा संगको कुराकानिमा आधारित )