पोखरा । गण्डकी प्रदेश सरकारद्वारा पोखरा महानगरपालिका वडा नंं-३० मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विसर्जन मेशिन जडान गरिएको छ ।
हस्पिटलबाट निस्कने फोहोर जन्य वस्तुको उचित रुपमा विसर्जन नहुँदा हुन सक्ने थप जोखिमलाई मध्यनजर राख्दै गण्डकी प्रदेशमा नै पहिलो पटक करिब एक करोड ३७ लाखको लागतमा ( सेडर स्टेलाईजि मेशिन ) फोहोर विसर्जन मेशिन जडान गरिएको हो ।
हस्पिटलबाट निस्कने सबै खालको फोहोरलाई मेशिनमा राखेर रोगका कीटाणुहरूलाई पूर्ण रुपमा निर्मलीकरण गरेर कम तौल र सानो साइजमा निकाल्ने सक्ने क्षमता मेशिनको रहेको छ भने यसलाई खेतबारी बाहेक अन्य ठाउँमा पुनः मलकै रुपमा प्रयोग गर्न मिल्ने भएको छ ।
यसै बिच उक्त मेशिनको मङ्गलवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले शुभारम्भ गरदै स्वास्थ्यको पहुँच सबै जनताले पाउनु पर्छ भन्ने मान्यताले स्वास्थ्यको क्षेत्रमा पर्याप्त बजेट चाहिन्छ भने सङ्घीय सरकार देखि प्रदेश सरकारमा आफूले जोडदारका साथ माग राखेको बताए ।
“आर्थिक अभावमा कुनै पनि जनताले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मान्यताले यस हस्पिटलबाट स्वास्थ्य बिमाको सुविधा, मुटु रोगीका लागि डाइलोसिस सेवा र आगामी दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा फुल फेजको हस्पिटल सञ्चालन गर्ने सोचका साथ गण्डकी प्रदेश सरकार अगाडी बढेको छु,” मन्त्री थापाले भने ।
अस्पतालले समयको माग अनुसार नयाँ नयाँ प्रविधिको खोजी गरि जनतालाई प्रभावकारी र गुणस्तरीय सेवा दिने लक्ष्यका साथ अगाडी बढेकाले यहाँ कार्यरत सबै करारका कर्मचारीहरूलाई साउनको पहिलो हप्तामा नै म्याद थप गरिने भएकोले निर्धक्कका साथ काम गर्न मन्त्री थापाले विश्वास दिए ।
सोही अवसरमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु थापाले स्वास्थ्येको क्षेत्रमा राज्यको ठुलो लगानी रहेकाले यसको सहिरुपमा सदुपयोग गरि प्रदेश कै नमुना हस्पिटल बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने सुझाव राखे ।
कार्यक्रममा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले मुठी देखि सर्वस्व दाताको दानबाट निर्माण भएको अस्पतालले छोटो समयमा ५० बेडको हस्पिटल तयार पारी २४सै घण्टा सेवा दिँदै आएको र आगामी दिनमा विशेष गरि मुटुका बिरामीहरूलाई केन्द्रित डाईलोसिस सेवालाई प्रभावकारी बनाउने योजना रहेको बताए ।
सोही कार्यक्रममा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेलले अस्पताललाई आर्थिक रुपमा कसरी मजबुत र सेवालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा नीतिगत तहमा नै कुरा उठान गरेको बताउँदै हस्पिटलले ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी, हस्पिटल क्षेत्रको कम्पाउन्ड र शान्ती सुरक्षाका लागि प्रहरी सेवा पहिलो प्रथामिकतामा परेको बताए ।