काठमाडौं। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
चिकित्सालयले नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमार्फत प्रदान गर्दै आएका सेवाहरुको बारेमा जानकारी दिन यो कार्यक्रम आयोजना गरेको हो।
अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागी पत्रकारहरु करिब २ घण्टा योग अभ्यास गरेका थिए। उनीहरुलाई चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले योग अभ्यास गराएकी थिइन्। करिब दुई दर्जन पत्रकारको सहभागिता रहेको कार्यक्रममा सबैले सक्रियताका साथ सहभागिता जनाएका थिए।
कार्यक्रमको दोस्रो खण्डमा चिकित्सालयकी प्रमुख डा. नेपालले चिकित्सालयले वार्षिक रुपमा गर्दै आएका कार्यक्रम, चिकित्सालयबाट प्रदान हुने सेवाहरुको बारेमा प्रस्तुतीकरण गरिन्। चिकित्सालयले प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र औषधि वितरण सेवा सञ्चालन गर्दै आएको उनले जानकारी गराइन्। चिकित्सालयले १६ बेडको अस्पतालको स्वीकृति प्राप्त गरे पनि भौतिक संरचनाको अभावमा शैय्याको व्यवस्था गर्न नसकिएको उल्लेख गरिन्। अहिले चिकित्सालयले बिहान १० बजेदेखि ३ बजेसम्म ओपिडी, ल्याब र निःशुल्क तथा सःशुल्क औषधि वितरण सेवा सञ्चालन गर्दै आएको छ। प्रस्तुतीकरणपछि पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया पनि भएको थियो। पत्रकारका प्रश्न, जिज्ञासा तथा सुझावहरुलाई डा. नेपाल र टिमद्वारा निराकरण र सम्बोधन गर्ने प्रयास गरिएको थियो।
कार्यक्रमलाई समापन गर्दै चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक ईश्वरी प्रसाद ढकालले आयुर्वेद सेवाको प्रवर्द्धनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे। चिकित्सालयले निःशुल्क र अतिन्यून शुल्कमा आयुर्वेद सेवा प्रदान गर्दै आइरहेको तर यसको समाजमा प्रचारप्रसार हुन नसकेको गुनासो गरे।
चिकित्सालयले ‘औषधिजन्य जडिबुटी मेला’ को आयोजना गर्ने भएको छ। आज शनिबार बिहान ८ बजेदेखि ३ बजेसम्म सो मेला काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सञ्चालन हुने डा. नेपालले जानकारी दिइन्। मेलामा जडिबुटीहरुको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवं लोपोन्मुख बहुमूल्य जडिबुटीहरुको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडिबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताइएको छ।
नेपालका अनुसार उक्त मेलामा औषधीजन्य जडीबटीको व्यावसायीक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयत्न एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता एवम् चुनौती लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरिने डा.नेपालको भनाइ छ ।
मेलामा हिमाल पहाड र तराईमा उब्जने बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा परम्परामा रहेका विभिन्न जडीबुटीहरु मिश्रित आहार एवम् खानपानको जानकारी दिइने आयोजकलले जनाएका छन् । लोपोन्मुख, विश्वभरि अनुसन्धानबाट पुष्टि भएका औषधीय ज्ञान उजागर गर्न एवम् नागरिकलाई सूचित गर्न लाभदायी हुने आयोजकको विश्वास छ ।