काठमाडौं । बाध्यताले अभिभावक देखि टाढा भएका वा बाबु आमाको माया देखि बञ्चित बालबालिकाहरु मानसिक रुपमा बिचलित भएको वा मानसिक समस्या झेलिरहेको विभिन्न अध्ययनले देखाएको छ ।
नेपालको हालको परिवेशमा हेर्ने हो भने प्रायः बालबालिकालाई परिवारको जिम्मा लगाएर आमा बुबा दुबै जना बैदेशिक रोजगारीमा गइरहेको पाइन्छ । त्यस्तै सानै उमेरमा नै छोराछोरीलाई होस्टेल वा बोर्डस गरेर राखेको पनि प्रशस्त मात्रामा देखिन्छ । बालबालिकाले आमा बुबाको माया पाउँने समयमा यसरी टाढा हुँदा उनिहरुमा मानसिक र शरीरिकरुपमा के कस्ता असर पर्छन भन्ने बिषयमा डा.सरोज ओझासँग गरिएको कुराकानी ।
अभिभावहरुले बालबलालिकालाई समय नदिदा उनिहरुलाई मानसिक स्वास्थ्यमा कस्तो असरहरु पर्न सक्छन् ?
मनोविज्ञान धेरै महत्वपूर्ण हुन्छ । मनोविज्ञानले भविष्यमा गएर व्यक्तिको स्वभाव विकास गर्ने हो । बालबालिकाको मनोविकास सानै उमेरमा हुने भएकाले त्यो समयबाट नै उनिहरुलाई राम्रो शिक्षा दिक्षा, लालनपोषण, संस्कार सबै सिकाउँनु पर्छ । मनोविकासका क्रममा सिकाएका सम्पूर्ण कुराहरु पछि गएर उसको स्वभाव हुने भएकाले सानै उमेर देखि आमाबुबाको माया ममता र साथको आवश्यकता हुन्छ ।
केहि अभिभावकहरु आर्थिक समस्याका कारण बाध्यताले कलिला बालबाललिका सँग बिछोडिएका हुन् । जतिबेला ति बालबालिकालाई आमाबुबाको सबैभन्दा बढि जरुरी हुन्छ त्यहि अवस्थामा आमाबुबा ति बालबालिकालाई होस्टल वा परिवारको जिम्मामा छोडेर हिडेका हुन्छन्।
बालबालिकाको मष्तिक विकास साने उमेरमा हुन्छ जो धेरै महत्वपुर्ण विकास हो । मष्तिक विकासका क्रममा बालाललिकालाई त्यहि अनुरुपमा खाना खुवाउने देखि लिएर माया ममता, संस्कार लालनपालन त्यहि अनुसारको दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा आमाबुबा स्वयले नै त्यो हुर्काइ गर्न असक्षम हुन सक्छन् ।
बालबालिकाको मष्तिक विकासका क्रममा केहि अभाव भएमा भविष्यमा नकारात्मक असर पर्न जान्छ ।
बालबालिका एक्लो हुदा पर्ने नकारात्मक असर
हाल बालबालिकामा देखिएको ठुलो लत भनेको इन्टरनेको लत हो । त्यसमाथि पनि उनिहरु एक्लो हुँदा त यो लत उनिहरुमाथि पूर्णरुपमा हाबि भइसकेको छ । आजभोलि अभिभावकहरु बालबालिकाकै साथमा हँदा पनि उनिहरुलाई खाना खुवाउन देखि लिएर अन्य समयमा भुलाएर राख्नका लागि पनि गेम खेल भनेर ल्यापटप, मोबाइल दिन्छौं यो वास्तवमा गलत हो । यसले बालबालिकाको मष्तिक विकासमा नकारात्मक असर पार्छ ।
त्यस्तै, नकारात्मक असर भन्नाले गलत संगत, कुलतको बाटो तर्फ जानु पनि हो । यी कुराहरुले उनिहरुको पढाईमा प्रत्यक्ष रुपमा असर परिरहेको हुन्छ । नकारात्मक बानी व्यवहारको विकास भए भविष्यमा नकरात्मक स्वाभाव हुन्छ । जसका कारण बालबालिका रिसाउने, अनुशासनमा नबस्ने , आमाबुबाले भनेको नमान्ने देखि लिएर पढाइमा कमजोर हुने र रक्सी, ड्रग्सको सेवन गर्ने जस्ता बानी बस्न सक्छ ।
कुलत या अन्य केहि लतमा परिसकेका बालबालिकालाई सुर्धान धेरै गाह्रो हुन्छ । जसले गर्दा बाहिर कमाउँन गएका आमा बुबाहरु पैसा कमाएर फर्किए भने पनि उनिहरुले छोरा छोरीलाई उपचारको माध्यमबाट पनि निको बनाउँन असक्षम हुन सक्छन् ।
समयमा नै सचेत भएर आमाबुबाले आफ्नो बालबालिकाको लालनपालन, संस्कार देखि लिएर स्वभावहरुमा पनि ख्याल गर्नुपर्ने हुन्छ ।
बालबालिका ड्रग्स, चोरी, डकैती जस्ता कार्यमा संलग्न हुनु के पारिवारीक माया नपाएरै हो ?
हामी सबैलाई भोक लाग्यो भने समयमै खाना खानुपर्ने हुन्छ । त्यस्तै बढ्दो उमेर क्रममा आमाबुबाको माया संरक्षण धेरै महत्वपूर्ण हुन्छ । हरेक व्यक्तिको मन माया पाएरै त्यहि अनुसारको विकास हुने हो । बालबालिकाले माया ममता पाएन्न भने अनैतिक कार्यमा संलग्न हुनमा यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुमिका खेलेकै हुन्छ ।
सकेसम्म बालबालिकाको हुर्काइ आमाबुबा दुबैले गर्नुपर्छ । यदि त्यो सम्भव भएन भने दुई जनामध्ये एक जनाले उनिहरुको स्याहार गर्नुपर्ने हुन्छ । जुन बेला उनिहरुको मष्तिक र मनोविकास सुरु हुन थाल्छ त्यस्तो समयमा उनिहरु माया ममताबाट बञ्चित भए गलत संंगतमा पर्न सक्छन र पछि भविष्यमा बिकराल रुप लिन सक्छ ।
सकेसम्म आफ्नो बालबालिकाको हेरबिचार आफै गरौं यदि सकिएन भने जसको जिम्मा दिएका छौं उनिहरुले आफ्नै सन्तान जसरी माया ममता दिन सक्छन वा सक्दैनन् बिचार गरेर मात्र जिम्मा दिऔं ।
आमाबुबाले कति वर्षसम्ममा बालबालिकाको के कुरामा ख्याल गर्नुपर्ने हुन्छ ?
शिशु जन्मेको २ वर्षसम्ममा मष्तिस्कको ८० प्रतिशत विकास हुन्छ । त्यस समयमा अभिभावकले बालबालिकाको खानेकुरामा कन्जुसाई गर्नु हुदैन । साथै यो उमेरमा उनिहरुलाई आमाको माया दिनु धेरै महत्वपुर्ण मानिन्छ ।
२ देखि ५ वर्षसम्म प्रि स्कुल एजमा पनि उनिहरुको मष्तिसकको विकास भइरहेको हुन्छ । यसबेला आमाको माया ममताको त्यतिकै आवश्यक हुन्छ ।
बालबालिका स्कुल जाने समय भएपछि कतियलाई बोर्डस वा होस्टल राख्दा अभिभावकले आफ्नो छोरा छोरीहरुको पढाइ, सरसंगत, खानपिन कस्तो भइरहेको छ भन्ने कुराहरुको जानकारी समय समयमा लिईरहनु पर्छ ।
यि तिन चरणमा अभिभाबकले बालबालिकाको बिशेष ख्याल राखेमा भविष्यमा उनिहरु सहि मार्गमा लाग्नछन् ।
बालबालिका २ वर्ष नहुदाँसम्म आमा साथमा हुन अनिवार्य छ । २ बर्ष नाघेका र ५ वर्ष नपुगेका बालबालिकाको खानपिनमा विशेष ध्यान दिनु पर्छ । यहि समयमा उनिहरुलाई अनुसाशित भएर बस्न पनि सिकाउनु पर्छ । बालबालिकालाई ल्यापटप, मोबाइलको प्रयोगबाट टाडै राख्नुपर्छ । बालबालिकालाई इन्टरनेटको प्रयोग गर्न दिनु भन्दा खुल्ला ठाउँमा खेलाउँन लैजानु पर्छ ।
बालबालिकाहरुको हुर्काइ र विकासमा बाबु आमा बाहेक अन्य परिवारले कस्तो भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ?
अभिभावक लगायत परिवारको अन्य सदस्यले पनि बालबालिका प्रति दायित्व बोध गर्नुपर्छ । परिवारको अन्य सदस्यले सबै बालबालिकाहरुलाई आफ्नै सन्तान जसरी समान व्यवहार गर्नुपर्छ ।
परिवारको वातावरण अनुसार बाललिकाको सिकाई पनि हुने भएकाले परिवारको वातावरण बाल केन्द्रित हुनुपर्छ । स्कुल जाने उमेर भएका बालबालिकालाई सहि शिक्षा दिन कन्जुसाई गर्नु हुदैन ।
१५ वर्ष सम्ममा आमाबुबा शिक्षक र अभिभावकले यसरी आ आफ्नो तर्फबाट सहयोग गर्न सकेमा उनिहरुले भविष्यमा परिवार र समाजलाई योगदान दिन सक्छन् ।
अन्तमाः सन्तान भइसके पछि उनिहरुको मनोविज्ञान विकासमा आफ्नो दायित्वबोध गरेर सकेसम्म घरमै बसेर हेरचाह गर्नु पर्ने हुन्छ । यदि त्यो सकिएन भने अभिभावकको जिम्मा वा स्कुलको जिम्मा दिदा आफ्नो दायित्व पुरा गर्नमा कन्जुसाइ गर्नु हुदैँन ।