काठमाडौं । नेपालमा पहिलो पटक कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टरमा न्यूरोमस्कुलर डेन्टिष्ट्रि विभाग स्थापना भएको छ।
न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागले अनुहारको हाड जोनीको समस्या, मोटोपन वा अन्य कारण घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको समस्या खेलकुद सम्बन्धी दन्त चिकित्सा जस्ता समस्याहरुको लागि बिना शल्यकृया वा शल्यकृयाद्वारा सेवा दिन यो विभाग स्थापना गरेको अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।
डा. श्रेष्ठले सर्वसाधारणमा अधिकतम संख्यामा देखिने तर जटिल नमानिने यस्ता समस्याको बहु/विभागिय दन्त चिकित्सा सेवा प्रदान गर्न चिकित्सा शास्त्र अन्तर्गत दन्त स्वास्थ्यको दशौं विधाको रुपमा यो विभाग स्थापना गरिएको जानकारी दिए।
आज आयोजित कार्यक्रममा बोल्दै डा श्रेष्ठले यस्तो किसिमको बहु/विभागिय चिकित्सा सेवा एउटै छतमुनि विश्वभरमा विरलै मात्र स्थापना भएको पाइन्छ। यसमा न्यूरोमस्कुलर डेन्टिष्ट्री केनियोफेसियल सर्जरी, नाक कान घाँटी स्लिप मेडिसिन, न्यूरोलोजी, अर्थोडोन्टिक्स लगायत अन्य दन्त सेवा विभागहरुको सहकार्य रहने बताए ।
त्यसै गरि राइट बाईटका संस्थापक डा. राजेश रबिन्दनाथनले यो उपचार धेरै देशहरुमा नरहेको तर नेपालमा यसको सहकार्य गर्न पाउदा खुसिलागेको बताए । उनले अहिलेको समयमा हाड जोनीको समस्या, घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको यस्तो समस्या धेरैमा भएता पनि उपकरण एवं जनचेतनाको कमिका कारण सहि उपचार पाउन नसकेको बताए । उनले नेपालि जनताले यो उपचार पाउन भनेर सहकार्य गरेको बताए ।
डा. अंकित शाहले नेपालमा करिव दश जना मध्ये चार जनामा अनुहारको हाड जोर्नी (TMJ) को समस्या रहेको बताए । उनले यस्ता समस्या भएका बिरामीहरु सचेतना नभएको कारण अधिकतम हाड जोर्नी, नसा तथा नाक कान घाँटी विभागमा समाधानको लागि पुग्ने गर्दछन् । यस्ता बिरामीहरुको लागि लक्षित गरिएर करोडौंको लगानीमा बिश्व कै उत्कृष्ठ उपकरणहरु आयात गरिएको जानकारि दिए ।