काठमाडौं । सानेपास्थित स्टार अस्पतालले रक्तसञ्चार सेवा केन्द्र संचालनमा ल्याएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले शुक्रबार केन्द्रको उद्घाटन गरेका छन् । अस्पतालले केही समय अगाडि देखि नै रक्तसञ्चार सेवा दिएपनि औपचारिक रूपमा आज बाट सञ्चालनमा आएको छ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले सञ्चालनमा आएको रक्तसञ्चार सेवा केन्द्रको थप स्तरोन्नति गरी सेवा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले रगतको अभाव मुलुकभर नै रहेकाले सबै अस्पतालमा रक्तसञ्चार सेवाको आवश्यकता भएको बताए । निजी अस्पतालहरुका कारण स्वदेशमै उपचारको सुविधा बढेर विदेश जाने बिरामी र पैसा स्वदेशमै रहने गरेको मन्त्री यादवले बताए ।
साथै मन्त्री यादवले विपन्न नागरिकका नाममा हुने गरेको विकृति अन्त्य गर्न आफु लागिपरेको पनि बताए । उनले सबै निजी अस्पतालले गरिब र विपन्न नागरिकका लागि १० प्रतिशत शैया उपलब्ध गराउनेपर्ने व्यवस्था भएपनि त्यसको दुरुपयोग भएको र त्यसलाई नियन्त्रण गर्न आफु लागिपरेको बताए । अब सबै अस्पतालले साप्ताहिक रुपमा निशुल्क शैया प्राप्त गरेका बिरामीहरुको पूरा विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने व्यवस्था गरिको उनले जानकारि दिए ।
त्यसै गरि अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनकाले उक्त रक्तसञ्चार सेवा केन्द्रले वार्षिक ५ हजार युनिट रगत आपूर्ति गर्ने क्षमता रहेको बताए । दैनिक करिब ३०० युनिट रगत संकलन तथा भन्डारण गर्न सक्ने क्षमताको रक्त संचार केन्द्रमा फ्रेस ब्लड , होल ब्लड , प्याकेट रेड सेल लगायतका रगत र रगतजन्य तत्वहरु उपलब्ध रहेको उनको भनाइ छ ।
रक्तदान धेरै महत्वपुर्ण भएको र स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रगत दान गर्न सकिने भएता पनि नेपालमा १ प्रतिशत मानिसले मात्र रगत दान गरिरहेको महर्जनले बताए । २४सै घण्टा खुल्ला रहने केन्द्रले स्वयमसेवी रक्तदाता र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संग सहकार्य गरी रक्त संकलन कार्य गर्दै आईरहेको उनले बताए। हाल यस केन्द्रले उपत्यकाका ३४ भन्दा बढी अस्पतालहरुलाई रगत तथा रगतजन्य तत्वहरुको आपुर्ति गर्दै आइरहेको छ।