काठमाडौं । क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो । मुख्य गरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ । फोक्सोबाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थि, पाचन प्रणाली, मूत्र प्रणाली तथा प्रजनन प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन् ।
क्षयरोग विश्वमा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहिआएको छ। क्षयरोग माइको ब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ, खाना,यौनजन्य क्रियाकलापबाट भने सर्दैन।
नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। हाल प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् । आव २०७९/८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिएको र करिब १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्क राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठ दिए ।
नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार त कहिले स्टव टिबी रणनीति बनाएर गर्यो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन । क्षयरोगको निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठूलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको सरोकार वालाको भनाई छ ।
क्षयरोगका ६८ प्रतिशत बिरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । सबै भन्दा बढी क्षयरोगको भार भएको जिल्लामा रूपन्देही रहेको छ भने सबैभन्दा कम रुकुम पूर्व रहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्दा आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ३२ जना क्षयरोगका बिरामीहरू भेटिएकोमा ०७८/७९ मा १ हजार ७ सय ६ जना, ०७९/८० मा १ हजार ७ सय ४५ जना भेटिएको र ०७९/८० मा १ हजार १ सय ८७ जना बिरामीहरू रहेको र जसमध्ये करिब ८ प्रतिशत बिरामीहरू उपचारको दायरामा ल्याउन नसकिएको हो ।
आ.व. २०७७/७८ मा १ हजार २ सय ३२ जना क्षयरोगका बिरामीहरू भेटिएकोमा जम्मा ९०.२ प्रतिशतको सफल उपचार भएको ०७८/७९ मा १ हजार ७ सय ६ जनामा ९१.२ प्रतिशतको सफल उपचार भएको, ०७९/८० मा १ हजार ७ सय ४५ जना बिरामीमध्ये ९२ प्रतिशतको सफल उपचार भएको र बाँकी बिरामीहरू उपचारमा ल्याउन सकिएको छैन् ।
सरकारले सन् २०३५ सम्म क्षयरोगको महामारी रूपमा अन्य गर्न र सन् २०५० सम्म प्रति १० लाख जनसङ्ख्यामा एक वा सोभन्दा कम बिरामी बनाएर क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको सरोकार वालाको भनाइ छ ।
“राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी नेपालले नयाँ क्षयरोग बिरामी दर र मृत्युदर घटाउने सन् २०३५ सम्ममा क्षयरोगको महामारीको अन्त्य गर्ने, सन् २०५० सम्ममा क्षयरोगको निवारण गर्ने र क्षयरोग निदान उपचार लाग्ने अधिक आर्थिक व्याय भारलाई शून्यमा झार्ने विशेष लक्ष्य राखेको छ ।” लक्ष्य पुरा गर्ने उद्देश्यले १२५ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान सुरु गरेको र यो अभियान ७५३ स्थानीय तहमा विस्तार गर्ने लक्ष्य रहेको डा. श्रेष्ठको भनाइ छ ।
उपचार प्रक्रियामा आएका भन्दा नआएका बिरामी बढी रहँदा सरकारले त्यसको खोजीसम्म गर्न सकेको छैन । यो अवस्थाले २०३५ सम्म क्षयरोग उन्मूलन गर्न नसकिने देखाउँछ । गरिबी, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएकाहरू पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले क्षयरोगीको पहिचान हुन नसकेको देखिन्छ ।
क्षयरोगको निदान तथा उपचार व्यवस्थापनमा थप सुधार ल्याउन प्रयोगशाला सेवाको सुदृढीकरण गर्ने, निजी सरकारी साभेदारिता कार्यक्रमलाई प्रभावकारी रूपमा सुदृढीकरण गर्दे लैजाने, हरेक सङ्घ, प्रदेश, जिल्ला, स्थानीय तह तथा वडा तहसम्म व्यवस्थापकीय संरचना गठन गरी क्षयरोग अन्तका लागि राजनैतिक प्रतिबद्धता हुनुपर्ने, प्रत्येक स्वास्थ्य संस्थामा एक जना डेडिकेटेड क्षयरोग फोकल पर्शनको व्यवस्थापन, बहुपक्षीय क्षेत्रको संलग्नताको लागि प्रत्येक विषयगत मन्त्रालय अन्तर्गत बन्ने योजना तथा रणानीतिमा क्षयरोग निवारणको योजनालाई प्राथमिकताका साथ समावेश गर्न सके क्षयरोग निवारण गर्न सकिन्छ ।