चितवन । सिमलताल दुर्घटनामा बेपत्ता भएका बसका यात्रु मध्ये हालसम्म १३ जनाको शव फेला परेको छ । ती मध्ये ६ जनाको सनाखत भइसकेको छ र सातजनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनाको चौथो दिन थप यात्रु र बसको खोजी गर्न प्रहरीले आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ । खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको बताएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो ।
यस प्रविधिले ३०० मिटर गहिराइसम्मको अवस्थाबारे जानकारी दिने बताइएको छ । यद्यपि अहिलेसम्म बस र थप यात्रु फेला परेको छैन । त्रिशूलीमा बेपत्ता भएका यात्रुको शव भने भारतको वाल्मीकि नहरसम्म फेला परेका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म भारतको वाल्मीकि नहरमा चार वटा, गण्डक ब्यारेजमा एउटा मध्यविन्दुको भुताहामा एउटा र सुस्तामा एउटा शव फेला परेको छ ।
वाल्मीकि नहरमा फेला परेका चार शवमध्ये दुई वटाको सनाखत भएको छ । भरतपुर–२२ पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मियाको शव सनाखत भएको हो । अन्दाजी १९ वर्षीय एक महिला र अन्दाजी ३० वर्षीय एक पुरुषको सनाखत नभएको पौडेलले जानकारी दिए ।
सुस्ता गाउँपालिका–१ मा फेला परेको एउटा शवको सनाखत भएको छ । उक्त शव बाराका ४३ वर्षीय परमानन्द पण्डितको भएको खुलेको उनले बताए ।
मध्यविन्दुको भुताहामा अन्दाजी ४० देखि ४५ वर्षको एक पुरुष र गण्डक ब्यारेजमा सोमवार दिउँसो अन्दाजी १३ वर्षीय एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ । ती शवको पनि सनाखत भएको छैन ।
यसअघि भरतपुर–२८ गोलाघाटमा दुई, भरतपुर–२६ सिसुवारमा एक र गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीका टापुमा तीन यात्रुको शव फेला परेको थियो । ती शवको सनाखत भइसकेको प्रहरीले जानकारी दिएको छ । दुबैवटा बसमा गरी चलान भएका र नभएका यात्रुहरूको टिकट समेत गरी ६५ जना यात्रु रहेको अनुमान गरिएको छ । ती मध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।