घरका जेठोपाको व्यक्तिहरु भन्छन्, ‘मलाई धेरै टेन्सन छ ।’ उनीहरुको टेन्सन घरपरिवार, बालबच्चाको पढाई, करियर, पैसा आदिसँग जोडिन्छ । कतिलाई रोगले टेन्सन दिन्छ, कतिलाई कामको चापले । अहिले टेन्सन नभएको व्यक्ति सायदै होलान् । त्यसैले त बजारमा ‘तनाव व्यवस्थापन’को सूत्र गजव बिक्न थालेका छन् ।
योग गरेर हुन्छ वा प्रवचन सुनेर, तनाव भगाउने यत्नमा जुटेका छन् धेरैजना । तनाव एक मानसिक समस्या हो । तनाव आफै पैदा हुँदैन । जब यसलाई ग्रहण गरिन्छ, तब यसको असर देखापर्छ ।
तनावकै अवस्था हो चिन्ता, पीडावोध । जब तनाव लम्बिदै र हुर्कदै जान्छ, यसले डिप्रेसनको रुप लिन्छ । डिप्रेसनको अवस्था आफैमा गंभिर हो । यसले सम्बन्धित व्यक्तिको दिनचर्या नै अस्तव्यस्त बनाइदिन्छ ।
हामी ठान्छौं, टेन्सन ठूला वा जान्नेबुझ्नेलाई मात्र हुन्छ । तर, सत्य फरक छ । अहिले थुप्रै बच्चाको टाउको तनावग्रस्त छ । धेरै तनावको भारी बोकेरै बाल्यकाल गुजारिरहेका छन् । उनीहरुमध्ये कतिपय डिप्रेसनको चरणमा पुगिसकेका छन् । पछिल्लो समय किशोरावस्थाको आत्महत्यालाई मिहिन ढंगले नियाल्ने हो भने पनि नतिजा त्यही देखिन्छ, उनीहरु डिप्रेसनबाट गुज्रिरहेका थिए ।
तनावग्रस्त बच्चा
तनाव जसलाई पनि हुन्छ । कसैलाई कामको तनाव त कसैलाई घरपरिवारको । तर हामी तनाव लिने क्रममा यो विर्सन्छौ की हामीलाई भन्दा बढी तनाव बालबालिकालाई हुने गर्छ ।
विशेषगरी, स्कुल जाने उमेरका बालबालिका झनै धेरै तनावमा रहने गर्छन् ।
तर ‘तनाव भनेको ठूलोलाई पो हुन्छ । बालबालिकालाई पनि कतै तनाव हुन्छ रु’ भन्ने आम धारणाका कारण हामी बालबालिकालाई हुने तनाव महसुस नै गर्न सक्दैनौ । र, जब परिस्थिति असामान्य बन्न थाल्छ तब मात्र हामी उनीहरुको समस्यालाई लिएर चिन्नित हुने गर्छौ । आत्मबोध गर्न थाल्छौ । तर, त्यतिबेलासम्म ढिलो भैसकेको हुन्छ । किनकी बालबालिकामा तनवको समयमै उपचार नगरे यसले उनीहरुको जीवनमा नकारात्मक तथा गहिरो प्रभाव पार्न सक्छ ।
यस्ता तनाव बालबालिकामा शारीरिक एवं भावात्मक संकेत तथा लक्षणका साथ उपस्थित हुने गर्छ । र, सामान्य सावधानी अपनाएर तथा उनीहरुको तनावको कारण पत्ता लगाएर पनि बालबालिकामा हुने तनावलाई कम गर्न सकिन्छ ।
अब धेरैको मनमा एउटा प्रश्न उठ्न सक्छ कि बालबालिकामा तनाव हुनु त राम्रो हो । हो, बालबालिकामा कम मात्रामा तनाव हुनु राम्रो हो । यसले उनीहरुको जीवनमा राम्रो परिणाम दिन्छ । तर अत्याधिक तनावले बच्चामा सोच्ने, कार्य गर्ने र अवस्थालाई मनन गर्ने तरीकालाई प्रभावित पार्ने गर्छ ।
त्यसो त बालबालिकामा चोटपटक, रोग तथा स्वास्थ्य सम्बन्धि अन्य समस्याले पनि तनाव निम्त्याउन सक्छ । त्यसबाहेक, अन्य, कारणले पनि बच्चामा तनाव हुनसक्छ ।
- स्कुलको कार्य, ग्रेडबारे चिन्ता
- कामको जिम्मेवारी
- साथीभाई बीचको प्रतिस्पर्धा
- कुनै कुरालाई लिएर साथीभाईको दवाव
- स्कुलको माहोल बदलिनु, नयाँ स्कुल , घर परिवर्तन तथा घर नहुनुको पिडा
- नकारात्मक विचारको प्रवाह
- शारीरिक परिवर्तन
- मातापिताको सम्बन्धमा परेको असर
- असुरक्षा
बच्चामा तनावको संकेत
बच्चाहरु आफूलाई तनाव भएको थाहा पाउँदैनन् । तर उनीहरुमा आएको परिवर्तन तथा लक्षणका आधारमा मातापिताले उनीहरुमा तनावको लक्षण देख्न सक्छन् ।
शारीरीक लक्षण
- भोकको कमी, खानपानमा आउने परिवर्तन
- टाउको दुखाई
- ओछ्यानमा पिसाब फेर्ने
- सपनामा तर्सिने
- अनिद्रा
- अस्पष्ट पेटको समस्या
- अन्य शारीरीक लक्षण
भावना वा व्यवहार सम्बन्धि अन्य लक्षण
- डर, चिन्ता
- भय
- क्रोध
- आक्रामक शैली, जिद्धी व्यवहार
- आत्तिने, तर्सिने, अध्यारोसित डराउने
- छटपटी हुने, आराम गर्नमा समस्या
- परिवार वा स्कुलको गतिविधिमा भाग लिन नचाहने
परिवारका सदस्यले कसरी गर्ने मद्दत ?
मातापिता आफ्नो बच्चालाई स्वस्थ तरीकाले तनाव कम गर्न मद्दत गर्न सक्दछन् । त्यसबाहेक, उनीहरुलाई सुरक्षित महसुस गराएर, तनाव कम गर्न सिकाएर, बच्चासित समय व्यतित गरेर पनि यो समस्याबाट उनीहरुलाई बाहिर निकाल्न सकिन्छ ।
त्यसबाहेक, निम्न उपाय अपनाएर पनि बच्चाको तनाव कम गर्न सकिन्छ ।
- सुरक्षित महसुस गराउने
- पारिवारिक माहोलमा बच्चालाई रम्न सिकाउने ।
- बच्चाको लागि रोल मोडल बन्ने । उनीहरुसित स्वस्थ व्यवहार गर्ने ।
- बच्चाले के कस्ता कार्यक्रम हेर्छन् त्यसको निगरानी गर्ने । किनकी हिंस्रक कार्यक्रम ताथ गेम शो ले पनि बालबालिकामा डर र चिन्ता पैदा गर्न सक्दछ ।
- बच्चालाई घर परिवर्तन वा जागिर परिवर्तनबारे सुचित गर्ने ।
- बच्चासित क्वलिटि समय व्यतित गर्ने ।
- उनीहरुको कुरा सुन्ने । उनीहरुको समस्या समाधान गर्ने प्रयास गर्ने ।
- उनीहरुमा आत्मबल बढाउने । उनीहरुलाई प्रोत्साहित गर्ने । माया गर्ने ।
- उनीहरुमा तनावको कारण बुझ्ने प्रयास गर्ने ।