काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । देशभर डेंगुको संक्रमितको संख्या २ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ देखि जुलाईसम्म २ हजार ६१ जनामा संक्रमित भएको जनाएको छ । जसमध्ये जुलाईमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्षमा डेंगु संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
वाग्मती प्रदेशमा ६६६ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्लागत रूपमा हेर्दा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा, झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
अन्य जिल्लामा डेंगु संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगु देखिएको छ । इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र रहेको बताए ।अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको पाईन्छ ।