काठमाडौं। उच्च रक्तचापका बिरामीहरुले आफ्नो जीवनकालमा विभिन्न प्रकारका गल्तीहरु गरिरहेका हुन्छन्, जसकारण उनीहरुको शरीरमा गम्भीर असर पुगिरहेको हुन्छ ।
बुबाआमा लाई उच्च रक्तचाप भएमा छोराछोरीमा पनि उच्च रक्तचापको समस्या आउने गर्छ । परिवारमा नै उच्च रक्तचापको समस्या भएकोले यसलाई कुनै पनि तरिकाबाट रोक्न सकिदैंन भन्ने सोचाइ समाजमा छ। खानपिनमा ख्याल गर्ने तथा शारीरिक परिश्रम गरेको अवस्थामा उच्च रक्तचाप हुन नदिन सकिन्छ ।
कुन उमेरमा देखिन्छ उच्च रक्तचाप ?
उमेर ढल्कदैं जाँदा मात्रा उच्च उक्तचापको समस्या देखा पर्ने गर्छ भन्ने धेरैको सोचाइ हुन्छ । तर त्यो मानिसमा रहेको एकप्रकारको भ्रम मात्रै हो । सानै उमेरमा पनि उच्च रक्तचापको समस्या देखा पर्न सक्छ । भर्खरै जन्मेका बालबालिकामा पनि उच्च रक्तचापको समस्या हुन सक्छ । त्यसैले यो उमेर बढ्दैं जाँदा मात्रै देखा पर्ने रोग होइन । आजकाल २० –२५ वर्षका युवायुवतीहरुमा समेत यो रोग देखा पर्ने क्रम बढेको छ ।
त्यसैले यो कुनै पनि उमेर समूहका मानिसहरुमा हुन सक्ने साझा समस्या हो । कतिपयले उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिएकोले यसको औषधि खानु आवश्यक छैन भन्ने सोचाइ धेरै मानिसहरुमा हुन्छ । कुनै पनि लक्षणबिना नै मानिसहरु उच्च रक्तचापको बिरामी बन्न सक्छन् ।रक्तचाप नापेपछि मात्रै यस्तो समस्या भए नभएको थाहा पाउन सकिन्छ । लक्षणबिना नै देखिने भएकोले पनि उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ ।
के उच्चरक्तचापको औषधि जीवनभर खानुपर्छ ?
उच्च रक्तचापका कारण हृद्याघात, पक्षघात तथा मृगौला फेल हुने समस्या दिनहुँ बढिरहेको पाइन्छ । लक्षण देखापरेपछि मात्रै यसको उपचार प्रक्रियामा लाग्छु भन्नु नै एउटा गम्भीर गल्ती हो । एकपटक औषधि सेवन गरिसकेपछि जीवनभर औषधि खानुपर्छ भन्ने सोचाइका कारण उच्च रक्तचाप भएका धेरै मानिस यसको औषधि खान तयार हुँदैंनन् । यदि सही समयमा उच्च रक्तचापका रोगीहरुले औषधि खाएमा यसलाई नियन्त्रण गर्न सजिलो हुने तथा बिरामीहरुको आयु बढाउन सहयोगी हुन्छ । उच्च रक्तचाप रोगीले औषधि नखाएको अवस्था हुन सक्ने जटिलता
उच्च रक्तचाप हुँदाहुँदै पनि औषधि सेवन नगरेको अवस्थामा रक्तचाप अझै बढ्ने गर्छ । जसकारण विभिन्न प्रकारका स्वास्थ्य जटिलताहरु बढ्ने गर्छन् । समयमै औषधि सेवन नगरेमा धेरै प्रकारको औषधिहरु खानुपर्ने तथा हुदयघात हुन सक्ने सम्भावना पनि बढ्छ । रक्तचापलाई नियन्त्रण गर्न सकेको अवस्थामा यसको औषधि पूर्ण रुपमा बन्द गर्न पनि सकिन्छ । औषधिको सेवन र रक्तचाप सन्तुलनमा आउनासाथ यसको औषधि छोड्नु हुँदैंन । यस्तो अवस्थामा औषधिको डोज भने बढाउनु पर्दैन ।
औषधि सेवन गरिरहेका उच्च रक्तचापका बिरामीहरुले पनि नियमित रुपमा कसरत गर्ने, खानेकुरा बार्ने गर्नुपर्ने हुन्छ । यसो नगरेको अवस्थामा उच्च रक्तचापको औषधिले राम्रोसँग काम गर्न सक्दैन । उच्च रक्तचापको औषधि सेवनले कुनै बेला रक्तचाप लो बनाउन पनि सक्छ भन्ने भ्रम धेरै व्यक्तिहरुमा हुने गर्छ । तर धेरैजसो अवस्थामा यसले रक्तचापलाई लो बनाउँदैंन । यसको औषधि सेवनले चक्कर लागेको हुन सक्ने भ्रम धेरै व्यक्तिमा हुने गर्छ । त्यो वास्तविकता भने होइन चक्कर लाग्नुमा अन्य धेरै कारणहरु हुन सक्छन् ।