काठमाडौं । डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सुरू गर्न आग्रह गरेको छ । लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न उक्त अभियान सुरू गर्न आग्रह गरेको हो ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित र एकजनाको मृत्यु भएको छ । डेंगु रोगको सङ्क्रमण बढेपछि सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा हरेक शुक्रबार सरसफाइ तथा लामखुट्टे र लामखुट्टेको लार्भा नष्ट गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।
मन्त्रालयले सरकारी अस्पताललाई डेंगु सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेंगु डेस्क’ स्थापना निर्देशन दिएको छ ।साथेै सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने बुढाथोकीले जानकारी दिए ।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाउन प्रदेश र स्थानीय तहका सबै निकायलाई आग्रह गरे ।
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।