बर्दिया । सर्पको टोकाइबाट बर्दियाको गुलरियामा दुई जना बालिकाको मृत्यु भएको छ ।
सर्पको टोकाइले गुलरिया नगरपालिका वडा नं १ की ९ वर्षीया मायरा चौधरी र ११ वर्षीया सोनिमा चौधरीको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । घरमा नै सुतिरहेको अवस्थामा एक्कासि बिरामी भई बर्दिया अस्पताल लगिएको र अस्पतालमा पुर्याएपछि सर्पले टोकेर मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जनाकारी दिए ।
बर्दिया अस्पतालमा मेडिकल अधिकृत सन्जय महत्तोले सर्पले टोकेर दुईजना बालिकाको बाटोमा नै मृत्यु भएको अवस्थामा बर्दिया अस्पताल ल्याई पुर्याएको जानकारी दिए ।
त्यसैगरी मधुवन नगरपालिका वडा नं २ ओराली बजार बस्ने जयराम थारूकी छोरी ६ बर्षिया रिया चौधरी गुलरिया मामाघर आएको बेलामा सर्पले टेकेर गम्भीर बिरामी भएकोले थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्जमा रेफर गरिएको छ । उनको हाल सम्म उपचार भइरहेको छ ।
गुलरिया नगरपालिका –१ का राम प्रसाद चौधरीले ७ वर्षीया भान्जी रिमा चौधरीले बिहान एक्कासी पेट दुख्यो भन्नेपछि खैरापुरमा रहेको मेडिकलबाट औषधी लिएर खुवाएको बताए । उनले भने– ‘ भान्जीले मुखबाट फिँज निकालेपछि अस्पताल लिएर आएका हौ । अस्पताल आएपछि मात्र थाहा भयो भान्जीलाई सर्पले टोकेको रैछ । भान्जीको अवस्था गम्भीर रहेको छ ।’
गर्मी मौसममा विशेषगरी सर्प जमिनको सतहमा निस्किन्छन । जमिनको सतहमा आउने क्रममा सर्प मानिसको घरमा पुग्न सक्छन् । विषालु सर्पले टोकेमा मानिसको ज्यान समेत जान सक्छ ।
बर्दिया अस्पतालका अनुसार चालु आर्थिक २०८१/०८२ मा बर्दिया अस्पतालमा ४२ जना सर्पले टोकेको बिरामी आएका थिए । जसमध्ये ३ जनालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । भने गत आर्थिक वर्ष २०८०/०८१ बर्दिया अस्पतालमा ८७ जना सर्पले टोकेको बिरामी आएको थिए । जसमध्ये ४७ बिषालु सर्पले टोकेको १७ जनालाई भेरी अस्पतालमा नेपालगन्जमा रिफर गरिएको अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेले जानकारी दिए । २०८१ वैशाख देखि साउनसम्म सर्पको टोकाइबाट बर्दियाबाट रिफर भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गर्ने क्रममा ३ जनाले मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।