काठमाडौं । जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको अत्याधिक मात्रामा प्रयोगले पछिल्लो समय बालबालिकाको दाँत बिग्रने क्रम बढ्दो छ । गाउँका बालबालिकाको तुलनामा शहरी क्षेत्रका बालबालिकाको दाँत बढी बिग्रने गर्छ ।
कतिपय बच्चालाई आमाले स्तनपान गराएरै सुताउने चलन छ,यसले गर्दो पनि कतिपय बालबालिकाहरुको दाँत बिग्रने गर्छ । बच्चालाई दूध खुवाएर सुताएपछि उनीहरुको मुख पनि सफा गर्दिनुपर्छ । बच्चाले दूध खाइसकेपछि मुखमा दूध जमेको हुन्छ ।
मुखमा दूध जमेर बस्दा त्यसले झन् किराले खाने सम्भावना रहन्छ । ६ महिनापछि बच्चालाई पानी खुवाउन मिल्छ । बच्चालाई दूध खाएर सुतेपछि दूधको बोतलमा सफा पानी हालेर थोरै चुसाइदिनुपर्छ ।
धेरैजसो बच्चाहरुमा दूधे दाँतमा किराले खाएको समस्या बढी देखिने गरेको पाइएको छ । अभिभावकले दूधे दाँत झरिहाल्छ र नयाँ आइहाल्छ भनेर ध्यान दिँदैनन् र हेरचाह गर्दैनन् जुन एकदमै गलत हो । दूधे दाँत राम्ररी सफा गरिएन भने पछि आउने स्थायी दाँत पनि बिग्रेर आउने हुन्छ ।
किराले खाएर दुधे दाँत समयभन्दा अघि निकाल्यो भने नयाँ आउनकोलागि बाँकी राखेको ठाउँ साइडमा रहेको दाँतले बन्द हुन्छ । नयाँ आउने दाँतलाई ठाउँ नै पुग्दैन । दात अड्किन्छ वा दाँया–बाया गरेर दाँत नै बांगोटिंगो भएर आउने सम्भावना हुन्छ । त्यसैले दूधे दाँतको हेरचाह गर्न एकदमै महत्वूर्ण हुन्छ ।
कसरी जोगाउने बालबालिकाको दाँत ?
बालबालिकालाई गुलियो खानेकुरा तथा जंक फुडबाट टाढा राख्दा बालबालिकाको दाँत जोगाउन सकिन्छ । बच्चाले एक एक घण्टामा जंक फुड या गुलियो खान्छ भने त्यसलाई लम्ब्याएर दिनमा एकचोटी मात्रै खान दिने र खाइसकेपछि खुल्ला र ब्रस गर्ने बानी बसाल्नुपर्ने हुन्छ । दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई दाँत देखाउनुपर्ने हुन्छ ।
खानपान शैली कस्तो बनाउने ?
बालबालिकालाई सकेसम्म प्राकृतिक चिज खुवाउनुपर्छ । जंक फुड र प्याकेट फुडभन्दा पनि घरमै बनेको खानेकुरा दिनुपर्छ ।
यदि हामीले एउटा स्याउ खायौं भने त्यसले दाँतलाई सफा गर्छ र बलियो पनि बनाउँछ । तर स्याउको ठाउँमा चकलेट खाँदा त्यसले दाँतलाई सडाउँछ । त्यसैले बालबालिकालाई फलफूल, हरियो सागपात र घरमा बनेका खानेकुरा बढी खान दिनुपर्छ ।
बाल दन्तरोग विशेषज्ञको सल्लाह लिने र उनीहरूको सल्लाहअनुसार बच्चाको दाँतको हेरचाह गर्नुपर्छ।