काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा एक लाख रुपैयाँ बाट कम्तीमा पाँच लाख बनाउने गरी कार्ययोजना सार्वजनिक गरेका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन। मन्त्रि पौडेलकाअनुसार संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू र १६औँ पञ्चवर्षीय योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरू तयार पारिएको हो।
कार्ययोजनामा स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बिमामा जोड्ने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण, औषधिको मूल्य समायोजन गरिने लगायतका कार्यक्रम उल्लेख छन्। साथै मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्।
स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त हुनुको मुख्य कारण अस्पतालबाट बीमितले बीमा वापत दिईने भनिएको सेवाहरु सूचीकृत पूर्ण रुपमा नपाउनु हो । अहिले बीमितहरुमाथि सहभुक्तानीको व्यवस्था सुरु गरिएकाले सूचीकृत सरकारी अस्पतालमा सेवा लिन जाँदा १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत सह भुक्तानीका आफैले तिर्नु परे तापनि सूचीकृत सेवा पूर्ण रुपमा पाएका छैनन् ।
त्यस्तै सार्वजनिक कार्ययोजनामा औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्न नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने, बिमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने, हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बिमामा उपलब्ध गराउने व्यवस्था गर्ने उल्लेख छ।
मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवा कार्यक्रमलाई व्यापक बनाउने, प्राथमिक स्वास्थ्य संस्थाहरुलाई स्रोत सम्पन्न बनाई स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पुर्याउने प्रतिबद्धता पनि गरे।