मानिसको शरीरको महत्वपुर्ण अंग मध्य मेरुदण्ड पनि एक हो । यो नहुँदा हामी सिधा उभिन पनि सक्दैनौँ। मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ। मेरुदण्डले मानव जीवनमा सहज रुपमा हिड्डुल लगायतका शारिरीक क्रियाकलापमा ठूलो भूमिका खेल्छ । तर कुनै कारणबस मेरुदण्डमा समस्या आउँदा यसले दैनिक जीवनयापनमा ठूलो असर गर्दछ । ८० प्रतिशत मानिसले आफ्नो जिवनकालमा एक पटक यो समस्या भोग्नुपरेको हुन्छ । पहिले धेरैजस्तो वृद्ध उमेरका व्यक्ति ढाड दुख्ने समस्या लिएर अस्पताल पुग्थे भने पछिल्लो समय युवा अवस्थामा पनि ढाड दुख्ने समस्या बढेको पाईन्छ । युवा अवस्थामा मेरुदण्डको समस्या बढ्नुको कारण , मेरुदण्डमा कस्ता–कस्ता समस्या देखा पर्दछन् , यसको उपचार विधि र यसबाट बच्ने उपायहरू के के छन् भन्ने विषयमा निसर्ग हस्पिटलका इन्डोस्कोपिक स्पाइन सर्जन डा श्रीराम खातीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित संवाद ।
मेरुदण्ड भन्नाले के बुझिन्छ ?
टाउको भन्दा तलको भाग (occiput) देखि पुच्छर सम्मको भागलाई(coccyx) मेरुदण्ड भनिन्छ । यो शरीरको पछाडिपट्टि हड्डीहरुको लामो स्तम्भ जसरी बसेको हुन्छ । मेरुदण्डले शरीरलाई सिधा बस्न, सुत्न, हिंड्डुल गर्न, निहुरिन, पछाडि फर्किन सहयोग गर्दछ । मेरुदण्डमा जोडिएका नसा शरीरका विभिन्न भागमा पुगेका हुन्छन् । यो कारणले गर्दा मेरुदण्डमा समस्या आउनेबित्तिकै अन्य भागमा पनि असर देखिने गर्दछ। मेरुदण्डलाई पाँच भागमा विभाजन गर्न सकिन्छ ।
- सर्वाइकल स्पाइन (Cervical spine) - यो सातवटा हड्डी मिलेर बनेको गर्दनको भाग हो। यो ठाउँमा समस्या आउँदा गर्दन दुख्ने र हातहरू झमझमाउने गर्दछ ।
- थोरासिक स्पाइन(Thoracic spine)- यो मेरुदण्डको बिचको भाग हो जुन १२ वटा हड्डी मिलेर बनेको हुन्छ। यो भाग सर्वाइकल स्पाइन र लम्बर स्पाइनको दाँजोमा कम समस्याग्रस्त भाग हो।
- लम्बर स्पाइन(Thoracic spine)- यो मेरुदण्डको सबै भन्दा जोखिमयुक्त भाग हो र यसमा ५ वटा हड्डी हुन्छन्। यो भागमा सबै भन्दा बढी लोड पर्ने हुँदा यसमा समस्या आउँदा कम्मर को दुखाई र खुट्टा तिर झम-झम गर्ने, खुट्टा निदाउने, खुट्टा भारीर लुलो हुने जस्ता समस्या देखिन्छन्।
- स्याकरल स्पाइन(Sacral spine )- यो मेरुदण्डको तल्लो भाग हो जसमा चार वटा हड्डी एकआपसमा जोडिएर बसेको हुन्छ ।
- ककिक्स(Coccyx) - यो मेरुदण्ड को अंतिम( पुच्छर) को भाग हो जसमा चार ओटा हड्डी जोडिएर बसेको हुन्छ।
मेरुदण्डमा हड्डीहरु बाहेक प्रत्यक दुईटा हड्डीको बिचमा एउटा नरम चकटी जस्तो चक्का हुन्छ जसलाई डिस्क (Disc) भनिन्छ। यसले मेरुदण्डको ८० % भार धानेको हुन्छ। २० % भार चाहिँ पछाडि रहेको दुई वटा जोर्नी ( Facet joint) ले धान्ने काम गर्दछ । मेरुदण्डमा जोडिएका नसा शरीरका विभिन्न भागमा पुग्ने भएकाले यसले हात( खुट्टा चलाउने देखि लिएर सास फेर्न र दिशा पिसाब समेत कन्ट्रोल गर्न मद्दत गर्दछ।
मेरुदण्डमा के कस्ता समस्या देखिन्छन् ?
मेरुदण्डमा देखिने समस्याका विभिन्न कारण हुन्छन् । कतिपयमा मेरुदण्डको समस्या वंशाणुगत वा जन्मजात नै हुने गर्दछ । यस बाहेक कुनै दुघर्टनाले गर्दा डिस्कमा चोट, मांसपेशीमा चोट र मेरुदण्डको हड्डी भाँचिएर, संक्रमणका कारण , क्षयरोगका कारण पनि स्पाइनमा समस्या आउने हुन्छ । ठुलो जोर्निलाई असर गर्ने खालको बाथरोग( Ankylosing spondyloarthropathy) ले पनि मेरुदण्डमा असर गर्ने गर्दछ । उमेर बढ्दै जाँदा देखिने समस्या( Degenerative) वा जिवनशैलिका कारण हुने समस्या जस्तै मेरुदण्डका नसा साँघुरिने, नसा च्यापिने समस्या सबै भन्दा धेरै मानिसमा देखा पर्छ। मेरुदण्डको क्यान्सर र मेरुदण्ड बाङ्गो हुने जस्ता समस्याहरू लिएर पनि थुप्रै बिरामि अस्पताल आउने गरेका छन् ।
अहिलेको परिवेशमा युवा अवस्थामा ढाड दुख्ने समस्या बढनुको कारण के हो ?
धेरै जसो युवाहरुमा डिस्क खिइएर ढाड दुख्ने समस्या भएको पाइन्छ । ४०% ढाड दुख्ने मान्छेहरुमा डिस्कोजेनिक ब्याक पेन(Discogenic Back Pain) देखिन्छ , जुन समस्या युवा अवस्थामा अत्यधिक देखिएको छ। डिस्कोजेनिक ब्याक पेन भन्नाले हड्डीहरुको बिचमा रहेको डिस्कको बनावट खराब हुदै गएर त्यसले मेरुदण्डको लोड धान्न नसकेर हुने तल्लो कम्मरको भागको दुखाई हो । यो समस्या विभिन्न कारणले गर्दा हुन्छ जस्तै लामो समय सम्म एउटै पोजिसनमा बसेर काम गर्नाले , निहुरिने र लोड उठाउने काम धेरै हुँदा , धूम्रपान, मधुमेह ( diabetes) , युरिक एसिड बढेको अवस्था (Hyperuricemia)मा र केही प्रतिशत वंशाणुगत पनि हुन्छ। अस्वस्थ जीवनशैली , आलस्यता , खानपानमा गडबडी ,कुलत , शरीरको बढी वजन जस्ता कुराहरूले गर्दा पनि युवावस्थामा यो खालको ढाड दुख्ने समस्या बढि देखिएको छ ।
उपचार
मेरुदण्डमा देखिने समस्या अल्पकालिन र दिर्घकालिन गरि दुई किसिमको हुन्छ । अल्पकालीन समस्यामा रोगको बारेमा धेरै खोजिनीति नगरी लक्षण को आधारमा औषधि, व्याम, बेल्ट , फिजियोथेरापी जस्ता उपचार विधिको प्रयोग गरिन्छ भने दीर्घकालीन समस्याहरू चाहिँ एक्सरे, एम.आर.आई (MRI), सिटी स्क्यान, अल्ट्रासाउन्ड , डायेग्नोस्टिक इंजेक्शन(diagnostic injection, nerve block ) जस्ता जाँचहरु गरेर रोगको निदान गरी औषधि, फिजियोथेरापी , नसामा इंजेक्शन लगाएर अथवा सर्जरी गरी उपचार गरिन्छ।
रोगको सुरुवाती अवस्थामा औषधि, फिजियोथेरापी, नियमित व्यायाम र जिवनशैलि परिवर्त गर्ने हो भने ८० प्रतिशतमा यो समस्या निको भएर जान्छ। तर कतिपय अवस्थामा यसलाई फलो गर्न नसक्दा अथवा सोचे अनुसार परिणाम नआउँदा अर्को उपचार विधि अपनाउनु पर्ने हुन्छ । यसमा क्षणिक उपचार को लागि सुई द्वारा नसाको नजिक औषधि दिइन्छ, जसले बिरामीलाई तीन महिना देखि एक वर्ष सम्म दुखाई बाट छुटकारा दिन सक्छ। सुईबाट नसाको नजिक इंजेक्शन दिँदा लक्षण कम भएन भने अथवा थोरै समयको लागि मात्रै काम गर्यो भने त्यस्तो अवस्थामा १० प्रतिशत बिरामीहरूको रोग निको पार्नको निम्ति सर्जरी गर्नु पर्ने हुन्छ । त्यहि भएर सामान्य समस्या मात्र भनेर वास्ता नगर्दा भविष्यमा ढाड दुख्ने समस्याले ठूलो रूप लिन सक्छ । त्यसैले यसको वेलैमा पहिचान गरी उचित उपचार गर्न जरुरी हुन्छ ।
बिरामिले सर्जरी पछि अन्य समस्या आएको वा प्यारालाइसिस नै भएको गुनासो गर्छन यो कुरा कतिको सत्य हो र ?
पहिले ओपन सर्जरी व्याप्त थियो , जसकारण कुनै अवस्थामा सर्जरी गरेपछि यस्ता समस्या देखिने गर्दथे । ओपन सर्जरी गर्दा रोग को निवाकरण गर्न को निम्ति ठूलो चिरा ९५(७ सेमी० बनाई मांसपेसी, हड्डी, तन्तु (ligaments) काट्नु पर्ने अवस्था हुन्थ्यो जसले गर्दा समस्या भएको ठाउँमा पुग्न को लागि अरु कुराको क्षति धेरै हुन्थ्यो तर अहिले प्रविधि को विकासले गर्दा दूरबिन(Endoscope) को माध्यम बाट मेरुदण्ड को सर्जरी गर्दा यस्ता समस्या अति नै न्यून भएका छन् र बिरामी पनि छिटो रिकोभरी हुने गर्दछ।
समस्या फेरि दोहरिने सम्भावना कत्तिको हुन्छ ?
मेरुदण्डको समस्या भनेको एक पटक भए पछि फेरि हुदैन भन्न सकिदैन । एक चोटि खिई सकेको डिस्क बारम्बार फुटेर नसालाई थिच्न सक्छ । हामिले सकेसम्म बिरामीलाई पुर्ण रुपमा निको बनाउने प्रयास गर्छौं तर दुखाई धेरै प्रकारका हुन्छन्। बिरामीको ७५ ५ दुखाई तुरुन्त निको हुन्छ भने बाँकि ३०% दुखाई चाई क्रमिक रुपमा तिन देखि छ महिनामा निको हुदै जान्छ । त्यस पछि पनि बिरामिको समस्या नदोहोरियोरियोस् भन्नका लागि नियमित व्यायाम, जिवनशैलि परिवर्तन , धुम्रपान सेवन नगर्ने , दैनिक क्रियाकलापमा ध्यान दिने र नियमित फलोअपमा बस्ने हो भने समस्या दोहरिने सम्भावना कम हुन्छ ।
यस्तो समस्या आउनै नदिन के के कुरामा ध्यान दिनु पर्छ ?
- जन्मजात रूपमा हुने मेरुदण्डको समस्याबाट बच्न सकिंदैन । तर ढाड दुख्ने समस्या, चोटपटक लाग्ने समस्या र जिवनशैलि कारणले हुने समस्याबाट भने बच्न सकिन्छ ।
- खानपानमा ध्यान दिने ,
- नियमित एक्साईज गर्ने ,
- दैनिक क्रियाकलापमा ध्यान दिने,
- लामो समयसम्म एउटै पोजिसनमा नबस्ने ९बीच बीचमा उठ्ने र हिँडडुल गर्ने० ,
- धुम्रपान सेवन नगर्ने ,
- शरीरमा भिटामिन डी को मात्रा सन्तुलित राख्न घाम ताप्ने, हड्डी बलियो बनाउन भिटामिनको सेवन गर्ने
- तौल भएको सामान उठाउदा ध्यान दिने ,
- निहुरिरएर काम नगर्ने ,
- वृद्धावस्थामा देखापर्ने मेरुदण्डको समस्याबाट बच्न दैनिक व्यायाम गर्ने, हड्डी बलियो बनाउन क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नु पर्दछ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
स्वस्थ मेरुदण्ड नै स्वस्थ जिवनको आधार हो। त्यसैले मेरुदण्ड को समस्या हुने बित्तिकै त्यो सम्बन्धी चिकित्सकलाई भेटेर उचित परामर्श लिनु भनेको नै आफ्नो मेरुदण्ड जोगाउने सबै भन्दा उत्तम तरीका हो। अरूको भ्रामक कुराहरू सुनेर आफ्नो मेरुदण्डलाई नोक्सान हुन नदिउँ।