इन्टरनेटको दुरुपयोगले पनि मानसिक स्वास्थ्यमा असर पार्छ । साइबरको दुरूपयोगले अपराधतर्फ पनि व्यक्तिलाई तान्न सक्छ । साइवर अपराध भनेको मोबाइल, कम्प्युटर, इन्टरनेटको प्रयोग गरी कुनै गैरकानुनी क्रियाकलापमा संलग्न हुनु हो । हिजो आजइन्टरनेटको प्रयोग नेपालमा अत्यधिक मात्रामा हुन थाले छ ।
एकतिरबाट इन्टरनेटले सूचनाको पहुँचमा अभिवृद्धि गरेको छ भने अर्कोतिर यसको दुरूपयोगले किशोर(किशोरीलाई गलत क्रियाकलाप तिर पनि उन्मुख गरिरहेको छ । इन्टरनेट तथा सामाजिक सञ्जालको दुरूपयोग गरी विभिन्न बाहानामा डर देखाउने, हेप्ने, धम्काउने, गलत कुरा फैलाउने, बेइज्जती गर्ने, प्रलोभन दिने जस्ता क्रियाकलाप हाम्रो समाजमा धेरै देखिन थालेको छ । किशोर किशोरीहरु र वयस्क व्यक्तिहरु इन्टरनेट चलाउँदा आफूले थाहा नै नपाइ गलत बाटोमा लागेको पनि देखिएको छ । यस्ता बेला किशोरकिशोरी कुरा बिग्रिएपछि आफ्नो अभिवाकलाई भन्न डराउँछन् र समस्यामा अल्झिँदै जान्छन् ।
समस्यामा अल्झिदै जाँदा उनको चिन्ता बढ्न थाल्छ र विस्तारै मानसिक स्वास्थ समस्याका लक्षणहरु देखा पर्न थाल्छन् । इन्टरनेटको माध्यमबाट यौनजन्य सन्देश, भिडियो आदि पठाइ त्यस्ता क्रियाकलापमा उत्प्रेरित गरिएका घटनाहरु पनि धेरै हुन थालेको छ । महिला तथा बालबालिका यस किसिमका क्रियाकलापबाट धेरै पीडित हुने गर्दछन् । किशोरावस्थामा अल्लारे बुद्धि भएकाले कहिलेकाहीँ रमाइँलोको नाममा गलत काममा उनीहरू अल्झिन पुग्छन् । आफ्नो निजी, गोप्य तस्वीर र सन्देश आफूले राम्ररी चिनेको वा इन्टरनेटबाट चिनेको तर कहिले नभेटेको व्यक्तिलाई पठाएर समस्या परेको घटनाहरु दिनहुँ पत्रपत्रिकामा आई राख्छन् ।
आपसी आदानप्रदानमा पठाइएका गोप्य तस्वीर र सन्देशले पछि तनाव दिने संभावना राख्दछ । इन्टरनेटको लत पनि लाग्न सक्ने भएकाले यसलाई विचार गरी आवश्यक परेमा मात्र प्रयोग गर्नु पर्दछ । दिनरात सामाजिक सन्जाल घोत्लिइरहनु हुँदैन ।
साइबर क्राइममा फसेको एक घटना
रमेश १६ वर्षको भए । त्यही वर्ष उनले कक्षा १० उत्तीर्ण गरे । उनका बुबाले खुसी भएर रमेशलाई एउटा राम्रो मोबाइल किनिदिए । मोबाइल पाएर रमेश दंग थिए । उनको नयाँ मोबाइलमा फेसबुक पनि थियो । उनले फेसबुक पनि प्रयोग गर्न थाले र उनलाई एकजना केटीले साथी बनाउन चाहिन् । रमेश दंग परेर उनलाई साथी बनाए ।
साथी ११ कक्षामा पढि रहिछन् । उनको फेसबुकबाट थाहा भयो । झण्डै ६ महिना फेसबुकमा कुरा गरेपछि रमेशले ती फेसबुक साथीलाई भेटौं भनेर लेखे ।त्यो लेखेपछि उनको फेसबुक साथी केही हप्ता हराइन् । रमेश ज्यादै दुःखी भए । ३ हप्तापछि फेसबुक साथीले भनिन् म केही हप्ता धेरै बिरामी परेकी थिएँ । अब मसँग फोनमा राख्नै पैसा छैन । किनभने बिरामी हुँदा धेरै खर्च भयो ।
रमेशलाई साथीको माया लागेर म सँग केही पैसा छ म तिमीलाई दिन्छु भने । फेसबुक साथीले आफ्नो बैंक नम्बर पठाएपछि रमेशले आफूसँग भएको रू. ५००० पठाए । फेरि फेसबुक साथी हराइन । ३ हप्तापछि फेरि मलाई पैसा चाहियो भनिन् । रमेशले आमा बुबासँग पैसा माग्दा नदिएपछि उनले पैसा चोरेर
पठाए । रमेशले यसरी पैसा चोरेर फेसबुक साथीलाई पैसा पठाएको थाहा पाएर उनका आमा बुबा झसंङ भए । उनीहरुले रमेशलाई रोक्न खोजे तर रमेश रिसाउन थाले । आमाबुबासँग झगडा गर्न थाले। एकदिन रमेश नभएको बेला उनको बुबाले रमेशको फेसबुक हेर्दा त छक्क परे ।
बुबालाई साइबर क्राइमको बारेमा थाहा भएकाले उनी प्रहरीकहाँ गए । प्रहरीले फेसबुक हेरेर थाहा भयो कि त्यो केटी भनेको मान्छे त पुरूष रहेछ ।रमेशलाई ठगेको रहेछ । त्यस्तो ठग, बदमाश मान्छेको फन्दामा परेर रमेशले धेरै पैसा खर्च गरे । उनी चिन्तामा पनि परे । प्रहरीबाट नै रमेशलाई सबै कुरा बुझाएपछि मात्र रमेश बदमासको फन्दाबाट मुक्त हुन सके ।
यो घटनाबाट किशोर(किशोरीहरू कसरी सामाजिक सञ्जालको लतमा लागेर बिग्रिन्छन् यदि त्यो बेलामा उनलाई सम्झाएर ठिक बाटोमा ल्याउन नसके भविष्यमा ठुलो घटना घटन सक्छ ।