काठमाडौं - आमाले बच्चा जन्मने बित्तिकै दूध खुवाउनुपर्छ । त्यसले पाठेघरको मुख खुम्चन्छ र रक्तस्राव रोकेर सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ । स्तनपान गराए दूधको प्रवाहलाई बढाउँछ ।
सुत्केरी भएपछि पहिलो २ वा ३ दिनसम्म बिगौती दूध (कोलोस्ट्रम) आउँछ, जुन बच्चाको लागि अति पौष्टिक मानिन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारको पौष्टिक तत्त्व रहेको हुन्छ ।
यसले बालबालिकालाई धेरै रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ । बच्चाको आँत सफा गर्नका लागि जडीबुटी, चिया वा पानी खुवाउन आवश्यक हुदैन आमाको दुधले नै सम्पूर्ण कार्य गर्छ ।
स्तनपान गराउँने केहि सहि तरीकाः
कुनै पनि बच्चालाई स्तनपान गराउँदा चुस्न सजिलो बनाई दिनुपर्छ । आमा पनि सजिलो गरी बस्नुपर्छ जसका कारण दूध राम्ररी बग्न सकोस ।
शिशुको टाउको र शरीर सिधा राख्नको लागि शिशुको मुख पूरै खुल्न दिनुपर्छ र बच्चाको तल्लो ओठले स्तनको मुन्टोलाई राम्ररी समात्न सक्नेगरी बच्चालाई नजिक राख्नुपर्छ ।
बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको हुनुपर्छ र मुन्टो मुखको भित्री भागसम्म पुग्नुपर्छ ।
शिशुको मुखले आमाको स्तन राम्ररी च्यापेको छ या छैन हर्नुपर्छ ।
नवजात शिशुको पछिल्लो भागलाई सिरानी वा आमाको हातले थाम्नुपर्छ । बाक्लो कपडामाथि बच्चालाई राख्नुपर्छ ।
स्तनपान गराउँदा समस्या परे दुधदानीको प्रयोग नगर्नुहोस् । यसले बच्चालाई आमाको दुध चसस्ने बानी पार्छ । सकेसम्म स्तनपान गराउने नै प्रयास गर्नुहोस् । कसैमा स्तनपान गराउने राम्रो विधि सिक्न आमालाई समय लाग्छ भने कुनै बेला बच्चालाई समय लाग्छ ।
दुवै स्तन चुसाउनुपर्छ तर एउटा स्तनमा दुध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । बच्चाले चुस्न थालेको केही मिनेटपछि आउने दूधमा बढि चिलो हुन्छ । एक पटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ ।
बच्चा भोकाएपछि (राति, दिउँसो जुनसुकै बेला) स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो १ देखि ३ घण्टा बिराएर दूध खान खोज्छ । शिशुले जति चुस्छ उति नै दूध बढी बन्दै जान्छ ।
गर्मीयाम भए पनि बच्चालाई चिनी, पानी, अरू किसिमको दूध वा तयारी आहारहरू दिनुपर्दैन । यस्ता आहारहरू बच्चाले खाएपछि भनेजति आमाको दूध खान सक्दैन । यस्तो आहार ४ देखि ६ महिनासम्मका बच्चालाई हानिकारक हुनसक्दछ ।
बच्चालाई ढयाउ गराउने
कुनै बेला बच्चाले दूध खाँदा हावा पनि निल्छ । यसले उसलाई असुविधा हुने गर्छ । बच्चालाई उचालेर पाखुरा वा छातीमा राखी ढाड मसारेर त्यो हावा फाली ढयाउ गर्न मद्दत गर्नुपर्छ ।
काखमा बसेको वा सुतेको बेला पनि त्यसो गर्न सकिन्छ । बच्चालाई राखेर थमथमाउँदा असजिलो भएको वा सधैं रोइरहने बच्चालाई पनि आराम मिल्छ ।