काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा ९बहिरंग सेवासमेत० प्रवाह गर्नुपर्ने निर्णयका विषयमा विज्ञप्ति निकाल्दै स्वास्थ्य मन्त्रालयलाई पत्र दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ती ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन सहितको परिपत्र गरिएको जानकारी दिए ।
परिपत्र गरिएका अस्पतालहरुमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पताल तथा स्वास्थ्य संस्था रहेका छन् ।
अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।