काठमाडौँ । सूर्य नेपालको मुख्य प्रायोजनमा हुन लागेको सूर्य नेपाल काठमाडौं कालिङ्गा लिटेररी फेस्टिवल २०२४ प्रति एक्सन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । एक्सन नेपालले एक प्रेस विज्ञप्ति जारि गर्दै सूर्य नेपालको मुख्य प्रायोजनमा हुन लागेको कालिङ्गा लिटेररी फेस्टिवल–२०२४ कानुन विपरित सूर्ति उद्योगको मुख्य प्रायोजक रहेको भन्दै विरोध जनाएको छ ।
कानुनी प्रावधान र आफ्नो सामाजिक उत्तरदायित्व प्रति सचेत रहन र यस प्रकारका कार्यक्रम आयोजना नगर्न वा त्यसमा सामेल नहुन सार्वजनिक निकायका व्यक्तित्व, लेखक, पत्रकार र सरोकारवालाको एक्सन नेपालले ध्यानाकर्षण गराएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार धुम्रपानले हरेक वर्ष ८० लाख भन्दा बढी मानिसको ज्यान लिने गरेको छ । नेपालमा मात्र सुतीजन्य पदार्थको सेवनले बर्षेनी ३७,००० भन्दा बढीले अकालमा ज्यान गुमाउनु परेको एक्सन नेपाल जनाएको छ । सुतीजन्यपदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी र अपराधी उद्योग (sin industry ) भनिएको हो ।
हजारौं मानिसहरुको ज्यान बचाउने उद्देश्यले ल्याइएको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानूनको कार्यान्वयनमा सरकार कमजोर देखिएको एक्सन नेपाल जनाएको भनाई छ । यसका कारण अपराधी उद्योगहरूलाई आफ्नो गतिबिधिलाई तिब्र बनाउन र बढाउन थप सहज भएको छ । काठमाडौँमा हुन लागेको कालिङ्गा लिटेररी फेस्टिवललाई सूर्य नेपालको प्रायोजकत्व त्यही आफ्नो वैधानिकतालाई छाप लगाउने रणनीतिले प्रेरित रहेको कुरामा दुई मत नभएको एक्सन नेपालले बताएको छ । तर सुर्तीजन्य उत्पादकको ब्यानर मुनि बसेर वा बसाएर साहित्यका बहुआमायिक विषयहरुमा छलफल गराउनु वा गरिनु बिडम्बनापूर्ण छ ।
सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौंको अनुसंधानहरूले देखाएका छन् । यसकारण अधिकांश देशहरूले सुर्ती उद्योगहरुलाई कुनै पनि प्रकारको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा प्रतिबन्ध लगाएको छ । नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून र नियमावलीहरूले यस्तो कार्यमा प्रतिबन्ध गरेको छ ।
यस्ता अपराधी उद्योग कम्पनीहरूसँग सञ्चालन गर्न कानुनी इजाजतपत्र भए पनि उनीहरूको हानिकारक उत्पादनहरू र सेवाहरूलाई सामाजिक रुपमा उचित र वैध ठहराउन सकिन्न । तसर्थ यस्ता उद्योगहरुमा आफूलाई सामाजिक रूपमा जिम्मेवार पात्रको रुपमा प्रस्तुत गर्ने होडबाजी स्पष्ट देखिन्छ ।सामाजिक रूपमा जिम्मेवार छवि प्रस्तुत गर्न यस्ता उद्योगहरुले संस्थागत सामाजिक उत्तरदायित्वको उपयोग गर्ने गरेका छन । यी उद्योगहरुका लागि संस्थागत सामाजिक उत्तरदायित्व आफ्नो अस्तित्वलाई प्रभाव पार्न सक्ने शक्ति भएका प्रमुख सरोकारवालाहरूको नजरमा आफ्नो वैधानिकता प्राप्त गर्ने प्रयास हो ।
राजनीति डगमगाउँदा देश र बृहत्तर लोककल्याणका लागि कलम र आवाज उठाउने साहित्यलाई काठमाडौं कालिङ्गा लिटेररी फेस्टिवलका आयोजकहरुले जनस्वास्थ्यलाई गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थका उत्पादक सामू घुंडा टेकाएका छन । आम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरुको ठूलो दबाब र लडाइँपछि बनेका कानुनहरुकै भद्दा मजाक हुनेगरी र आफ्नो सामाजिक उत्तरदायित्वको समेत पर्वहा नगरी सुर्तीजन्य पदार्थ उत्पादकहरुको प्रचारका लागि लोगो सहित कार्यक्रम गरिनु हास्यास्पद छ । कानुनी प्रावधान र आफ्नो सामाजिक उत्तरदायित्व प्रति सचेत रहन र अपराधी उद्योगको व्यानरका मुनि कुनै पनि प्रकारको कार्यक्रम आयोजना नगर्न वा त्यसमा सामेल नहुन एक्सन नेपालले, सार्वजनिक निकायका व्यक्तित्व, लेखक, पत्रकार र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छ ।