पिसाबलाई हामी नियन्त्रण गर्छौं र लामो समयसम्म पिसाब रोकेर बस्ने पनि गर्छौं । तर कतिपयमा यस्तो समस्या हुन्छ, जसले पिसाबलाई नियन्त्रण गर्नै सक्दैनन् । चाहेर पनि पिसाब रोकेर बस्न सकिदैन् । पिसाब चुहिने समस्याले शारीरिक मात्र होइन, मानसिक तनाव पनि उत्पन्न गराउँछ। यसले सामान्य दिनचर्यालाई नै प्रभावित बनाएको हुन्छ । यस्तो समस्या महिलामा बढी हुन्छ । महिलाले आफूमा भएको यो समस्या लुकाएर राखेको र लजाउने हुनाले यो पिसाब चुहिने समस्या धेरै फैलिएको र बढेको छ। पिसाब चुहिने कस्तो समस्या हो ? के कारणले हुन्छ ? यसको निदान तथा उपचार के कस्तो छ ? यसै बारेमा निसर्ग हस्पिटलका युरोलोजी विशेषज्ञ डा प्रज्ञान ख्वान्जुसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
पिसाब चुहिने कस्तो समस्या हो ?
चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ भनिन्छ । पिसाब चुहिने समस्या महिला पुरुष दुबैमा हुन्छ । पुरुषमा प्रोस्टेटका कारण यो समस्या देखिन्छ भने महिलामा विभिन्न कारणहरु रहेका छन् । महिलामा विशेष गरेर यो समस्या ५० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ। यस्तो समस्या हुँदा छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने तर शौचालय नपुग्दै पिसाब चुहिने गर्छ । अनि शरीर गन्हाएर गुप्ताङ्ग चिलाउँछ, घाउ हुने हुन्छ ।
पिसाब चुहिने समस्यालाई चार भागमा विभाजित गरिएको हुन्छ ।
स्ट्रेस इन्कन्टिनेन्स : पेटमा बल लाग्ने कुनै पनि कार्य गर्दा यदि पिसाब चुहिन्छ भने त्यो समस्यालाई स्ट्रेस इन्कन्टिनेन्स भनिन्छ। यो अवस्थामा हाँस्दा, खोक्दा, उफ्रँदा वा भारी समान उचाल्दा पिसाब चुहिने हुन्छ । यो विशेषगरी पाठेघर खस्दा, गर्भावस्थाका जटिलताले र वृद्धावस्था ले पनि हुनसक्छ ।
अर्ज इन्कन्टिनेन्स : पिसाब लाग्दा रोक्न गाह्रो हुन्छ वा रोक्न नसक्ने हुन्छ । छोटो अवधिमै पिसाब फेर्नु पर्ने हतार हुन्छ । विशेषगरी यो समस्या गर्भावस्थाका जटिलताहरुले हुने गर्छ ।
ओभर फुलुइन इन्कन्टिनेन्स : यो अलि फरक किसिमको छ । यसमा पिसाब थैलिले पिसाब राम्रो संग खालि गर्न सक्दैन् । पिसाब थैलिको क्षमता भन्दा बढि हुदाँ पिसाब चुहिने हुन्छ । यो समस्या मेरुदण्डको चोट, प्रोस्ट्रेट समस्या ले गर्दा हुन्सक्छ ।
कन्टुनियसलि इन्कन्टिनेन्स : लगातार पिसाब चुहिराख्ने हुन्छ । यो फिस्टुला जस्ता समस्या हुदा हुने गर्दछ ।
कस्तो महिलामा यो समस्या हुन्छ ?
पिसाब चुहिने समस्या विशेषगरी धेरै बच्चा जन्माएको महिला, बच्चा पाउदा जटिलता भएमा र पिसाबको संक्रमण भएको महिलामा धेरै देखिन्छ । महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुन सक्छ वा पहिले नै भएको समस्या झन् बढ्न सक्छ । यो समस्या ५० बर्ष भन्दा माथिको महिला धेरै देखिन्छ । साथै विवाहित महिला र उमेरको हद भन्दा बढि बच्चा पाइसकेको महिलामा पाठेघरको मांसपेशी कमजोर भएर मूत्र नलीमा पिसाब बढी भएपछि यो समस्या हुन्छ।
यो समस्या हुनुको मुख्य कारण ?
धेरै जसो महिलामा यो समस्या के कारणले भएको भने थाहाँ हुदैन् । विशेषगरी विभिन्न शारीरिक तथा मानसिक समस्याका कारण महिलामा यो समस्या देखिएको हुन्छ । मानसिक रोगका कारण र यसको औषधि सेवन गरेको अवस्थामा, हर्मोनको गडबडी, गर्भावस्थामा गर्भमा रहेको शिशुको विकास सँगै मुत्राशयमा दवाव पर्ने भएकाले पिसाब अनियन्त्रित हुने गर्छ । त्यस्तै प्रसव व्यथाका दौरान पिसाब नली कमजोर भएर पनि यो समस्या निम्तन सक्छ ।
पिसाब थैलीको समस्याले पनि पिसाब चुहिन सक्छ। पिसाब थैलीको संक्रमण, पिसाब थैलीमा मासु पलाएको, स्टेन्ट राखेको, पत्थरी भएको अवस्थामा पनि पिसाब चुहिन सक्छ। पिसाब थैलीका संवेदनशील मांसपेशीहरु बढी सक्रिय हुनुभएकाले सानो कुराले पनि यो समस्या निम्त्याउछ। गर्भावस्थामा हुने पिसाब चुहिने समस्या अन्य जटिल्ता नआएमा यो समस्या पछि आफै ठिक हुन्छ ।
- पिसाब नलीमा संक्रमण
- पिसाब थैलीमा पत्थरी
- कुनै ट्रमाका कारण
- गर्भ धेरै खेर गएको अवस्थामा
- गर्भावस्था
- बढ्दो उमेर
- महिनावारी सुकेपछि
- पुरुषमा प्रोस्टेटका कारण
पिसाब चुहिने समस्याले अन्य रोग निमत्याउ छ ?
यो रोग होइन तर यस्तो समस्या हो, जसले हाम्रो दैनिक कार्यमा अप्ठेरो बनाई दिन्छ र सामाजिक कार्यक्रममा भाग लिनसमेत बञ्चित गराउँछ। यो समस्याले ज्यानलाई खतरा भने हुदैन् । बरु कुनै रोग वा समस्याका रुपमा पिसाब नरोकिने समस्या देखिनसक्छ । यस समस्याको पहिचान गरि उपचार गर्नु अति आवश्यक हुन्छ ।
यसको निदान तथा उपचार के कस्तो छ ?
यसको निदान तथा उपचारका लागि विभिन्न उपाय अपनाउन सकिन्छ। यो समस्या समान्य उपचार तथा औषधिले निको पार्न सकिन्छ । तर कतिपय अवस्थामा औषधि उपचारबाट रोग निको नभए शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ । त्यसै गरी सुत्केरी अवस्थामा संक्रमण नहोस् भनेर विशेष ध्यान दिनुपर्छ । स्वस्थकर जीवनशैली, खानपान, व्यायाम आदिले यो समस्या कम गर्न सकिन्छ । तौल धेरै छ भने घटाउने, मधुमेहको समस्या भएकाले औषधि गरेर खानपिनमा ध्यान दिनुपर्छ । यो समस्या समान्य देखिए पनि समयमा नै परामर्श नपाउँदा र उपचार नगर्दा यो समस्या झन् बढ्न सक्छ ।
पुरुषहरूलाई पनि यो समस्या प्रोंस्टेटका कारण हुन सक्छ । यसको साथै विभिन्न अन्य समस्या जस्तो– पार्किनसन्स, मोटोपना आदिको कारणले पनि यो समस्या हुन सक्छ । त्यसैले बेलैमा स्वास्थ्यकर्मीसँग परामर्श लिनु पर्छ ।
बच्ने उपाए
- जिवनशैलि परिवर्तन गर्ने
- आवस्यकता भन्दा बढि पानि नपिउने
- दैनिक एक्सरसाइज गर्ने
- खानपानमा ध्यान दिने
- चिया कफि चक्लेट जस्ता खानेकुरा धेरै नखाने
- उचित निन्द्र लिने
- सर सफाइमा ध्यान दिने
- तौल नियन्त्रण गर्ने
- कैफिन,धुमपान, मदिरा लगायत मुत्राशयलाई उत्तेजित गर्ने पदार्थको सेवन कम गर्ने