कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा नियुक्ति पाएका पूर्वरथी बालानन्द शर्माले आफ्नो तत्कालका प्राथमिकता सङ्क्रमित बिरामीहरूको ज्यान बचाउने हुने बताएका छन्।
शर्माले भने, "मृत्युको मुखमा रहेका बिरामीको सक्दो बढी जीवन बचाउन सकियोस् भन्ने मर्ममा टेकेर काम सुरु हुनेछन्।"
सोमवार मन्त्रिपरिषद्ले नियुक्ति गरेका शर्माले बुधवारदेखि सीसीएमसीको प्रमुखको रूपमा कार्यभार सम्हाल्ने छन्।
नयाँ व्यवस्था अन्तर्गत प्रधानमन्त्री नेतृत्वमा रहेको कोभिड-१९ सम्बन्धी निर्देशक समितिमा शर्मा सदस्यसचिव रहनेछन्।
नयाँ व्यवस्थाले के फरक पार्छ?
सीसीएमसी सचिवालयको प्रमुखका रूपमा काम गरेका प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले शर्माको 'विपद्मा काम गरेको' अनुभवले राम्रो नतिजा दिने अपेक्षा गरिएको बताउँछन्।
बराल भन्छन्, "विपद्का बेला कहिलेकाहीँ आवश्यक परेमा सुरक्षा निकायहरूलाई समेत कमान्ड गर्नुपर्ने हुन्छ। त्यो क्षमता उहाँमा देखिन्छ।"
सीसीएमसी अहिलेसम्म समन्वयकारी निकायको भूमिकामा एउटा खुकुलो संयन्त्रका रूपमा रहेकोमा 'अब पूर्ण प्रतिबद्ध ढङ्गले काम गर्ने' संरचना बनेको बराल बताउँछन्।
सरकारले जेठ पहिलो साता कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश- २०७८ ल्याएर सीसीएमसीसम्बन्धी नयाँ व्यवस्था गरेको थियो।
नेपाली सेनाका भूतपूर्व उच्च अधिकारी शर्मा देशभित्र र सङ्कटग्रस्त अन्य देशमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन्।
'सङ्कट झैँ काम'
शर्माले अहिले आपत्कालीन अवस्था भएकाले यसलाई 'गैरराजनीतिक र व्यावसायिक ढङ्गले सामना गरिनुपर्ने' मान्यतामा आफूले काम गर्ने बताए।
उनले भने, "कहाँ हामी असफल भयौँ भन्ने मेरो एउटा बुझाइ छ र हाम्रा सबल पक्षहरू उत्तिकै छन्। त्यसलाई विदेशमा अन्य देशका राम्रा र नराम्रा उदाहरणसँग तुलना गरेर काम गर्ने सोचमा छु।"
तर नेपाल विश्वमै उच्च सङ्क्रमण दर देखिएको मुलुकमा देखिइरहँदा उनका लागि तयारीका लागि धेरै समय खर्चने सुविधा नभएको जानकारहरू बताउँछन्।
शर्मा त्यसैले आफूहरू पहिलो चरणमा 'बिरामीमा केन्द्रित' हुने बताउँछन्।
स्रोतहरू थप्नुपर्ने ठाउँमा थप्ने र व्यवस्थापनले हुने ठाउँमा व्यवस्थापन गर्ने बताउँदै उनले भने, "सङ्क्रमण पहिचान गर्ने काम त निरन्तर गर्नु नै पर्ने छ तर बिरामी भएर अस्पतालमा अक्सिजन कुरिरहेका व्यक्तिहरूलाई सम्बोधन गरिहाल्नु पर्नेछ।"
स्रोत, जनशक्ति, योजना र समन्वयका हिसाबमा विगतलाई समीक्षा गर्दै आपत्कालीन अवस्थासँग जुझ्ने रणनीतिले यतिखेर काम गर्नुपर्ने उनी बताउँछन्।
उनी भन्छन्, "जनशक्तिको परिचालन औपचारिक प्रक्रियाहरू छोट्टाएर, कुनै युनियनका अवरोध नभईकन छिटोभन्दा छिटो पुग्नुपर्ने अवस्था छ। दिन होइन घण्टामा मानिसहरू ठाउँमा पुग्नुपर्छ। हामीले ती बीचमा समय लाग्ने प्रक्रियालाई सक्दो घटाउँछौँ।"
'चाप व्यवस्थापन'
प्रधानमन्त्री कार्यालयका सचिव बरालले यतिखेर सरकारको धेरै समय उपचार र निदानमा खर्च भइरहेको बताउँछन्।
उनले भने, "तर अवस्था सामान्यीकरण गर्न सीसीएमसीले त्यसको रोकथाम नियन्त्रणका लागि जरासम्मै पुगेर काम गर्नुपर्नेछ। निदान र उपचारको काममा स्वास्थ्य मन्त्रालय समेत लागिराखेको छ।"
नवनियुक्त प्रमुख शर्माले तत्कालको बिरामीको चापलाई प्राथमिकतामा राख्दै खोपजस्ता अन्य महत्त्वपूर्ण आवश्यकतालाई पूर्ति गर्न लाग्ने बताए।
कतिपय विज्ञहरूले भने अहिलेकोजस्तो परिस्थिति आउन सक्ने सङ्केतहरू देखा परे तापनि सरकारले 'निकै ढिलो गरी सही काम गरेको' बताएका छन्।
आलोचना
महामारीको एउटा चरण झेलिसकेको र विश्वभर यसअघि नै दोस्रो लहर देखा परिरहेका बेला सरकारले कानुनी रूपमै अधिकारप्राप्त यस्तो छुट्टै संरचना बनाउ ढिलो गरेको कतिपय विज्ञहरू ठान्छन्।
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. सुशीलनाथ प्याकुरेल भन्छन्, "नेपाल सङ्घीय संरचनामा गएपछि स्वास्थ्य मन्त्रालयसँग पहिलेजस्तो चेन अफ कमान्ड छैन। त्यसैले उसले एक्लै सक्दैन भन्ने पहिल्यै थाहा थियो।"
त्यसमाथि सुरुवाती रूपमै केही स्वास्थ्य सामग्री खरिदमा विवादमा तानिएपछि समेत त्यसको औचित्य पुष्टि गर्न यो स्वरूपमा जानुपर्नेमा सरकार दोस्रोपटक ढिलो गरेको उनी ठान्छन्।
विज्ञहरूको निरन्तर सल्लाहमा योजनाबद्ध रणनीति बनाउन सीसीएमसी चुकेको डा. प्याकुरेलको भनाइ छ।
उनका अनुसार शैक्षिक संस्था सञ्चालनजस्ता विषयमा मन्त्रालयका सिफारिसहरू रोक्नु, सीमामा परीक्षण र होल्डिङ सेन्टरहरू सञ्चालन गर्न नसक्नु, खोपका लागि समन्वय गर्न नसक्नु, भारतको अवस्था हेरी तयारी नगर्नु र जनशक्ति व्यवस्थापनमा रणनीति बनाउन नसक्नु सीसीएमसीका प्रमुख कमजोरी रहेका थिए।
शर्माले भने अब सीसीएमसीले 'कार्य सञ्चालनका लागि आपत्कालीन स्वास्थ्य योजना, त्यसलाई चाहिने स्रोत-सामग्रीको योजना र जनशक्ति एवम् ढुवानीका लागि आवश्यक सामग्रीको योजना' बनाएर काम गर्ने बताएका छन्।
बिबिसी