काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले २०८०/८१ को दुई दिने बार्षिक समीक्षा गोष्ठी गरेको छ ।
काठमाडौँ जिल्लामा भएका अस्पताल तथा स्वास्थ्य संस्थामा रहेको कमीकमजोरी, चुनौती, उपलब्धि, प्रगति र भावि योजना बारे प्रस्तुती गरेका छन् । स्वास्थ्य संस्थामा हुने कमजोरी हटाउन अनुगमन बढाउनुपर्ने विज्ञहरुले बताएका छन् । स्वास्थ्य सरोकारवालाले स्वास्थ्य संस्थामा कमीकमजोरी बारे विस्तृत विवरण प्रस्तुती गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक दीपक तिवारीले अन्य जिल्लाभन्दा उपत्यका महामारीको जोखिममा रहेको भन्दै त्यसलाई रोक्न काठमाडौँ जनस्वास्थ्य कार्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । जनस्वास्थ्य कार्यालय काठमाडौँले समयमै वार्षिक समीक्षा गरेर यसपटक उदारणीय काम गरेको उनले बताए । स्वास्थ्य क्षेत्रमा सेवासँगै गुणस्तर पनि बढ्नु जरुरी रहेको । स्वास्थ्य सेवालाई केन्द्रमा राख्दै स्वास्थ्य क्षेत्रको संरचनागत विकास र विस्तारलाई सुदृढीकरण गर्न स्थानीय तहको सहभागिता हुन जरुरि रहेको बताए ।
त्यसैगरि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य संस्थामा हुने कमजोरी हटाउन अनुगमन बढाउनुपर्ने बताएका छन् । प्रदेश अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाको कमी कमजोरीहरु बारे गुनासो आइरहेको हुदा त्यसलाई सुधार गर्न जनस्वास्थ्य कार्यालयसंगै स्थानीय तहले पनि सक्रियता बढाउनु पर्ने बताए । हाल फैलिरहेको झाडापखाला, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, हैजा लगायतका महामारीजन्य रोग नियन्त्रणमा लाग्न मन्त्री थापाले निर्देशन दिएका छन् । मन्त्री थापाले काठमाडौँ सबैभन्दा धेरै अस्पताल भएको जिल्ला भएकोले स्वास्थ्य संस्थामा कमीकमजोरी सार्वजनिक भइरहेको उल्लेख गरे ।
निजीको अस्पताल व्यवस्थापकीय कमजोरीले गर्दा सेवाग्राहीले पैसा र समय खर्चिंदा पनि चित्तबुझ्दो सेवा पाएका छैनन्। निजी अस्पतालले नियम अनुसार अस्पताल सञ्चालन गर्न नसकेको भन्दै मन्त्री थापाले त्यस्ता अस्पताललाई कारबाहीको दायरामा ल्याइने बताए । नेपालको स्वास्थ्य क्षेत्रको आगामी यात्राको मार्गचित्र हुनुपर्छ जिकर गरे ।
साथै कार्यक्रममा स्वास्थ्य सरोकारवालाले स्वास्थ्य क्षेत्रमा गरिएका उपलब्धीबारे विस्तृत विवरण, खोप लगायतका स्वास्थ्यका कार्यक्रम बारे प्रस्तुती र स्वास्थ्य क्षेत्रका चुनौती, प्रगति र भावि योजना प्रस्तुत गरेका थिए ।
काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रमुख डा.अर्जुन प्रसाद सापकोटाले काठमाडौमा स्वास्थ्यमा धेरै चुनौती रहेको बताए । ७७ वटै जिल्लाबाट उपचारका लागि काठमाडौँ आउने गरेकाले महामारीजन्य रोग फैलिरहेको उनले बताए । जोखिममालाई रोक्न स्थानीय तहको पनि उत्तिकै सहयोग र समन्वय रहेको जानकारि दिए । उनले जनस्वास्थ्य कार्यालयले गरेका कामको अभिलेख राख्न नसक्दा समस्या भएको बताए ।
उद्घाटन सत्रमा लामो समय स्वास्थ्यमा काम गरी भर्खरै सेवा निवृत्त भएका जनस्वास्थ्य अधिकृत तुलसीप्रसाद सुवेदीलाई सम्मान तथा विदाई कार्यक्रम राखिएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्री थापा र जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा सापकोटाले सुवेदीलाई प्रमाणपत्र तथा मायाको चिनो उपहार प्रदान गरेका थिए ।
आज पनि अस्पताल तथा स्वास्थ्य संस्थामा रहेका कमीकमजोरी, चुनौती, उपल्बधि र भावि योजना बारे प्रस्तुती र नगरपालिकाहरुको प्रस्तुतिकरण जारिनै रहेका छन्।