महिला स्वस्थ छन् भने परिवार पनि स्वस्थ हुन्छ । महिलाको स्वास्थ्यले उनको जीवनका सबै पक्षहरूलाई असर पु¥याइरहेको हुन्छ। भन्नाले उनको घर परिवार, काम र समुदाय सबै पक्षहरूलाई असर पर्छ । उनि स्वस्थ भए उनले धेरै भूमिका निर्वाह गर्न सक्ने र सबैसँग सुमधुर सम्बन्ध राख्न सक्छिन् । महिला र पुरुषमा फरक प्रजनन अंग हुन्छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । विगतमा महिलाको स्वास्थ्य सेवा बारे जानकारि नहुँदा महिलाले धेरै सास्ति भोक्नु परिरहेको थियो । धेरै महिलाले रोग लुकाएर बस्छन्। त्यसले समयमै उपचार गरे निको हुने समस्या पनि जटिल बनिदिन्छ। अहिलेको समयमा महिलामा देखिने मुख्य समस्या के-के हुन् ? यसबाट बच्ने उपाए ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलकी वरिष्ठ स्त्रि तथा प्रसुति रोग विशेषज्ञ प्रो.डा.शैलजा क्षेत्रीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
महिलामा देखिने मुख्य स्वास्थ्य समस्या के-के छन् ?
महिलामा जन्मे देखि मुत्यु सम्म नै समस्या देखिरहेको हुन्छ । विशेषगरि प्रजनन् उमेरको महिलाहरु स्वास्थ्य समस्या लिएर आएका हुन्छन् । अधिकांश विवाहित महिलाहरु तल्लो पेट दुख्ने, गर्भवास्थामा समस्या, पाठेघरको ट्युमर, पीसीओडी र पाठेघरको मुखमा हुने संक्रमणबाट पीडित हुने गरेका छन् । त्यस्तै, अविवाहित महिलाहरुको हकमा भने सेतो पानी बग्ने, अनियमित महिनावारी, योनी चिलाउने समस्या देखा पर्छन् । प्रजनन् उमेर वा महिनावारि सुकेपछि महिलामा पाठेघरको मुखको घाउ, गर्भावस्था र बच्चा जन्माउने बेलामा हुनसक्ने जटिलताहरू, पाठेघरमा मासु पलाउने, पिसाब सम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाठेघरको क्यान्सर जस्ता समस्या हुने भएकाले समय समयमा स्वस्थ्य जाँच गराउनु आवश्यकता हुन्छ ।
अनियमित महिनावारी
सामान्यतया महिलाको उमेर किशोरावस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ। १२ देखि १४ बर्षमा महिनावारी सुरु हुन्छ। महिनावारी सुरु भएको २ बर्ष सम्म अनियमित महिनावारी हुनु समान्य हो । तर १० बर्ष भन्दा छिटो र १६ बर्ष भन्दा ढिलो महिनावारी हुनु यसलाई समान्य मानिदैन् । महिनावारी भएको ६ दिन पछि पनि रगत भइरयो, १५/१५ दिनमा महिनावारी भयो भने यसलाई समस्याको रुपमा लिईदैन् ।
महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ जुन नियमित महिनावारी हो। तर विभिन्न कारणले २१ दिनभन्दा अघि र ३५ दिनभन्दा ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या पनि हुन सक्छ। यसको कारण पत्ता लगाएर उपचार गरे अनियमित महिनावारीलाई नियमित बनाउन सकिन्छ । २० देखि ४५ उमेरका महिलामा अनियमित महिनावारीको समस्या देखा पर्छ ।
सेतो पानी तथा फोहर पानी बग्ने समस्या
महिनावारी हुनुअगाडि र भएको १५ दिनमै पानी जानु समान्य हो तर, पानी गन्हाउने, यौनांग चिलाउने, सिगान जस्तो पहेलो चिप्लो पानी र दही जस्तो चोक्टा पानी बगेको छ भने यस्तो बेला डाक्टरको परामर्श लिन जरुरि हुन्छ । यस्तो संक्रमण ब्याक्टेरिया र फंगस दुवैको कारणले हुन सक्छ। यसलाई औषधि खाएर नै निको पार्न सकिन्छ ।
महिनावारि सुकेपछि हुने समस्या
प्राय :५१ बर्षमा महिनावारि सुक्ने गर्छ । महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन्। जस्तै हड्डी खिईने, पेट दुख्ने, पिसाबमा संक्रमण हुने, हर्मोनको कमि जस्ता समस्या देखा पर्छन् । महिनावारि सुकेपछि क्यान्सरको जोखिम पनि बढ्ने हुन्छ ।
बाँझोपनको समस्या
धेरै जस्तो युवतिहरुमा अनियमित महिनावारी, पीसीओडी, मोटोपन, संक्रमण, थाइरोइड जस्ता समस्याले गर्दा बाँझोपन निम्त्याएको हुन्छ । पीसीओडी, थाइरोइडका कारण डिम्बासयले अण्डा नबनाउदाँ बाँझोपनको समस्या भैइ रहेको छ । पाठेघरको संक्रमण, पाठेघरको ट्युमरले पनि बाँझोपन हुन जान्छ। थाइरोइडले गर्दा गर्भखेर जाने, बच्चा छिटो जन्मिने पनि हुन्छ ।
समस्या देखिनुका कारण
- जिवनशैलि
- खानपान
- हर्मोनले गर्दा
- आईरनको कमि
- एक्सरसाइजको कमि
- धूम्रपान, मदिरा लगायतका पदार्थको सेवन
- कैफिन भएको पदार्थको अत्यधिक सेवन
- सर सफाइमा ध्यान नदिँदा
- जनचेतनाको कमी
महिलामा पाठेघर झर्ने समस्या ३०/३५ बर्षबाट सुरु भएको हुन्छ । तर उनिहरुलाई यो थाहानै हुदैन् उनिहरु अरुनै समस्या लिएर अस्पताल आँउने गर्छन् पछि जाँच गर्दा मात्र थाहा हुन्छ । यसरि महिलाहरुले आफ्नो रोग लुकाएर बसेका हुन्छन् । जसकारण सामन्य समस्या पनि जटिल रुप लिन्छ ।
समस्याबाट बच्ने उपाय
स्वास्थ्य समस्याको प्रमुख निराकरण नै जनचेतना अभिवृद्धि हो । जनचेतनाको कमीकै कारण धेरै समस्याहरु देखा पर्ने र समस्याको समयमै उपचार नगरेको पाईन्छ । विवाहित महिला वा २० देखि ६५ वर्ष उमेर भएका प्रत्येक महिलाले प्याप स्मियर जाँच अनिवार्य रुपमा गर्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा पनि धेरै समस्या देखिन्छ ।
- व्यक्तिगत सरसफाइमा ध्यान दिने
- दैनिक एक्सरसाइज गर्ने
- खानपानमा ध्यान दिने
- तौल नियन्त्रण गर्ने
- महिनावारिको बेलामा विशेष ध्यान दिने
- २० देखि मथि उमेर भएका हरेक महिलाले प्रत्येक बर्ष प्याप स्मियर जाँच गर्ने
- समय—समयमा स्वास्थ्य जाँच गराउने
- थाइरोइडको समस्या भएको महिलाले चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने
- गर्भवास्थामा चिकित्सकको सम्पर्कमा बस्ने
- महिनावारि सुकेपछि हड्डी खिईने कमजोर हुने भएकाले विशेष ध्यान दिने