वीरगञ्ज । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्पूर्ण नेपालीहरूलाई आफ्नै गाउँठाउँमा गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्याउने अभियानमा सरकार क्रियाशील रहेको बताए ।
पर्साको पटेर्वासुगौली गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पतालको आज एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै उनले स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्न सक्ने वातावरण बन्दै गएको बताए ।
सभापति देउवाले देशका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरूमा गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउँदै जनताको प्रत्यक्ष सरोकारका काम छिटोछरितो र पारदर्शी ढंगले अगाडी बढिरहेकोमा खुशी व्यक्त गरे ।
सभापति देउवाले सङ्घीय कानुन सम्मत रुपमा मुलुक सङ्घीय ढाँचामा अगाडी बढिरहेको र यसबाट जनताका आधारभूत आवश्यकता पुरा हुँदै जाने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसियाले समानुपातिक समावेशी व्यवस्थाको कारण मुलुकमा मधेशी, मुस्लिम, आदिवासी, जनजाति, दलित वर्गले आरक्षण पाएको बताउँदै जनसङ्ख्याको आधारमा निर्वाचन प्रणाली बनाउने काम काँग्रेसले गरेको दाबी गरे ।
उनले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायत विकास निर्माणको पक्षमा धेरै काम भएको बताउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर अहिलेको सरकारले काम गर्दै आएको जानकारी दिए ।