- डा. ओम मुर्ति अनिल
काठमाडौं - नियमित शारीरिक गतिविधिमा संलग्न भएमा शरीर मात्र स्वस्थ्य नभई मानसिकरुपमा पनि स्वस्थ्य भइन्छ । दैनिकरुपमा सक्रिय जीवन बिताउनाले मुटु रोग, प्रेसर, सुगर, कोलेस्ट्रोल, मस्तिष्कघात, हृदयघात जस्ता समस्यालाई घटाउन सक्छ ।
त्यसैगरी विभिन्न किसीमका क्यान्सर जस्तै आन्द्राको क्यान्सर र महिलामा देखिने स्तन क्यान्सर हुनबाट जोगाउन शारीरिक सक्रियताले मद्दत गर्छ ।
दैनिक मात्रामा करिब एक घण्टा हिड्नु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ तर विश्व स्वास्थ्य संगठनका अनुसार चार जना व्यक्तिमध्ये एक जनाको हिडाइ प्रयाप्त नभएको जनाएको छ । बिशेषगरी किशोरावस्थाका मानिसहरु ८० प्रतिशत प्रयाप्त मात्रामा हिड्दैनन् । शारीरिक निष्क्रियताले कम उमेरमा मृत्यु हुने र मुटु रोग लाग्ने सम्भाबना २० देखि ३० प्रतिशतले बढ्छ ।
शारीरिक गतिविधिमा सक्रिय हुनाले मानसिक स्फुर्तीका साथै विभिन्न किसिमका हर्मोनले एक किसिमको खुशि प्राप्त गर्छ । दैनिक हिड्नाले हाडजोर्नि र ज्वइन्टको समस्याहरुलाई पनि रोकथाम गर्न सकिन्छ । साथै यसले मसल बलियो हुने, बुद्धावस्थामा लड्दा हुने फ्याक्चर र मृत्युबाट पनि जोगाउन सकिन्छ ।
कतिपय व्यक्तिलाई दैनिक कति हिड्दा राम्रो हुन्छ भन्ने बारे जानकार नभएको पाइन्छ ।
कोहि व्यक्ति लामो समयदेखि शारीरिक गतिविधिमा निष्क्रीय छ भने उसलाई अचानक मृत्युको जोखिम बढि हुन्छ । यसलाई चिकित्सकिय भाषामा अटोनमिक डिसफंग्सन भनिन्छ । बृद्धावस्थाका व्यक्ति हिडिरहेका छैनन् भने अचानक मृत्यु हुने सम्भाबना बढ्छ ।
कुनै व्यक्ति शारीरिक हिसाबले फिट छ भने अचानक हुने मृत्युबाट जोगाउन सकिन्छ । एक आर्टिकलको अनुसार, मानिसको जिवन प्रतिदिन ६० किलोमिटर हिड्ने क्षमतामा बनेको हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, एक स्वस्थ्य व्यक्ति दैनिक छिटो छिटो कम्तिमा ३० मिनेट हिड्नुपर्छ । अर्थात पसिना आउने र स्वाँ स्वाँ हुने गरी ३ किलो मिटर हिड्न जरुरी छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना लगायतका अन्य कुनै जोखिम भएमा त्यसको दोब्बर ६० मिनेट हिड्नुपर्ने हुन्छ ।
शहरी जिवनमा बस्ने २० बर्ष नाघे व्यक्तिमा अनुसन्धान गर्ने हो भने उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना जस्ता समस्यामध्ये कुनै एक समस्या नभएको व्यक्ति सायद नहोलान् । त्यसैले शहरमा रहेका हरेक व्यक्ति ६० मिनेट अर्थात १ घण्टा हिड्न जरुरी छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, ५ देखि १७ बर्ष उमेरका बालबालिकालाई कम्तिमा ६० मिनेट भन्दा बढि हिड्नुपर्छ । त्यस्तै १८ देखि ६४ उमेरका व्यक्तिले कम्तिमा ३० मिनेट हिड्नुपर्छ । मोटोपना घटाउने, कोलेस्ट्रोल नियन्त्रण र रक्तचाप घटाउनु भएमा थप ३० मिनेट हिड्नुपर्छ । ६५ बर्षभन्दा माथिका व्यक्तिकोे शरीरको क्षमताले भ्याए दैनिक १ घण्टा भन्दा बढि हिड्न जरुरी हुन्छ ।
उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मुटु रोग, मस्तिष्क रोग लाग्ने जस्ता सम्भाबना पनि बढ्दै जान्छ । ८० बर्षको व्यक्तिलाई उच्च रक्तचाप हुने सम्भाबना ८० प्रतिशत नै हुन्छ । बढ्दो उमेरमा लाग्ने रोगको जोखिमबाट बच्न केहि कारणहरु प्रदुषण, बंशानुगत गुण र डाइट मिलाउनु हाम्रो बशमा नभएपनि शारीरिक गतिविधि गर्न हामीलाई कसेले रोक्न सक्दैन ।
उमेर बढ्दै जाँदा अझै शारीरिक सक्रियता बढाउनुपर्ने हुन्छ । ६० बर्ष नाघेका व्यक्तिले दैनिक १ घण्टा भन्दा बढि २ घण्टा हिड्नु राम्रो हुन्छ । उनिहरु दैडिने वा स्पिडमा हिड्नु पर्दैन तर बिहान देखि बेलुकासम्म २ घण्टा हिड्नाले रोगहरु टाढा हुनुको साथै अचानक हुने मृत्युबाट समेत जोगाउन सकिन्छ ।
शारीरिक रुपमा फिट भएका व्यक्तिहरुमा जीवनमा अर्को आनन्द दिइरहेका हुन्छन् । त्यसैले स्वास्थ्यप्रती सजक भई प्रत्येक दिन हिड्न जरुरी छ ।