- डा. ओम मुर्ति अनिल
काठमाडौं - जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुन पुग्छन् । मुटु रोग प्राणघातक रोग हो । समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबैभन्दा बढी मानिसको मृत्यु मुटु रोगले नै हुने गरेको तथ्यांक छ ।
समयमै मुटु रोगको पहिचान गर्न सके, उचित उपचारका साथै रोगलाई सजिलै निको पार्ने र जटिलताबाट बच्ने सम्भावना प्रबल हुन्छ। यसको लागि मुटु रोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ।
रोग लागेको समयमा नै पहिचान गर्न नसके जटिलता बढ्न सक्छ । रोगको जटिलता बढिसकेपछि कठिन, महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले, लक्षणकै आधारमा शुरुवातमा नै रोग पत्ता लगाउनु पर्छ।
अधिकांश मुटु रोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटु रोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटु रोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केही जाँचहरुको मद्दतले मुटु रोगको निदान गर्ने गरिन्छ ।
यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएमा आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटु रोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।
मुटु रोगका प्रमुख लक्षणहरु
छाती दुख्नु, मुटु ढुक ढुक हुनु, स्वाँ स्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटु रोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटु रोग नै भयो सोच्नु गलत होला ।
लक्षणहरुको राम्रो विश्लेषण गरेमा सामान्य व्यक्तिले पनि मुटु रोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सकिन्छ ।
मुटु रोग पत्ता लगाउन यसको जोखिमहरुको बारेमा जानकारी लिन जरुरी हुन्छ ।
लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन, मुधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदीरापान, मानसिक तनाव, बंशाणुगत (परिवारमा मुटुरोग), उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला) आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।
एक भन्दा बढी जोखिमहरु भएमा मुटु रोगको झन् बढी सम्भावना हुन्छ । रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटु रोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।
छाती दुख्नु
छाती दुख्नु र पोल्नु वा दबाबको अनुभव गर्नु मुटु रोगको प्रमुख लक्षण मानिन्छ । तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी र करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ ।
खोक्दा, दुखेको ठाउँमा दबाउँदा, हल्लिदा, सास फेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।
छातीको सानो भागमा ५ वर्ग से मी क्षेत्रफल भन्दा कम भएमा प्राय मुटुको नभएर मांसपेशीको दुखाइले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगै पसिना आउनु, स्वाँ स्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटु रोगको कारणले हो बुझ्नु पर्छ ।
स्वाँ स्वाँ हुनु
स्वाँ स्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो । तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँ स्वाँ हुनसक्छ ।
प्राय उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँ स्वाँ हुनु, थकाइ लाग्नु मुटु रोगको लक्षण हुन सक्छ । आफ्नो उमेरको हिसाबले (दुरीरगति) हिड्न नसक्नु वा बीचमा रोकिने अवस्था आउनु मुटु रोगको लक्षण हुनसक्छ ।
मुटु ढुकढुक हुनु
मुटु ढुक ढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा काम गर्दा, हिड्दा ढुक ढुक बढ्ने र आराम गर्दा कम हुने गर्दछ ।
मुटु रोगको कारणले ढुक ढुक जुनसुकै बेला हुन सक्छ । प्राय केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।
खुट्टा सुन्निनु
खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मिर्गौला र मुटु रोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टासंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्राय उच्च रक्तचापको औषधिले पनि यस्तो हुन्छ । जुन सामान्य मानिन्छ ।
खुट्टा सुन्निनुको साथै स्वाँ स्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मिर्गालाको जाँच गर्नु जरुरी हुन्छ ।
बेहोश हुनु
बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदि कारणले हुन सक्छ । स्वस्थ व्यक्ति बेहोश भएमा एक पटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुन सक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।
थकाई लाग्नु
थकाई लाग्नु सामान्य पनि हुन सक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केही कारण हुन सक्छ । भिटामिन डी को कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटु रोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटु रोगमा यस्तो लक्षण हुनसक्छ । थकाईसंगै अरु लक्षण देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।
माथि उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन। यि लक्षणहरुलाई क्ष्यक्तिको उमेर, स्वास्थ्य अवस्था, मुटुरोगका जोखिमहरु, बंशानुगत कारण, लक्षणको तिब्रता र समय आदी कुराहरुमा भरपर्छ । कुनै व्यक्तिमा यस्ता केही लक्षण देखिएका छन्न भने चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।