हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।पिनास भएका व्यक्तिको नाक गनाउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ ।
लगातार नाक बन्द भइरहने समस्याले टाउको भारी हुने र निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुँघ्ने शक्ति कम हुन्छ ।कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ । टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु गालातिर दुख्ने पिनासका मुख्य लक्षण हुन् । पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् ।भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ ।
एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएर पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।
पिनासका लक्षणहरू
– खोकी लागिरहने
– टाउको दुख्ने
– अनुहारका भागहरू दुख्ने
– नाक बन्द हुने
– नाकबाट बाक्लो सिंगान बग्ने
– मुखबाट खकार आउने
– नाकले कुनै बास्ना-गन्ध थाहा नपाउने
पिनासको उपचार
पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधी सेवन गर्नु बढी नै प्रभावकारी हुन्छ ।
पिनास लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् । साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ ।