जुम्रा भनेका निकै साना किराहरु हुन् । तिनीहरु यति साना हुन्छन् कि तिनीहरुलाई नांगो आँखाले सजिलै देख्न पनि निकै गाह्रो हुन्छ । सामान्यतः जुम्राको आकार एउटा तोरीको गेडा जत्रो मात्र हुन्छ । तिनीहरु विशेष गरेर खैरो र कालो र रङ्गको हुन्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ । सामान्यतया जुम्राको आयू ३० दिनको हुन्छ ।
कपालमा जुम्रा पर्ने समस्या बालबालिकादेखि बूढापाकासम्म देखिन सक्छ। जुम्रा परेपछि कपाल चिलाउने समस्या देखिन्छ। जुम्रा परेपछि टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी, महिलाको कपाल लामो र बाक्लो हुने कारण जुम्राको समस्या धेरै हुन सक्छ । बाक्लो कपालमा बस्न मन पराउने जुम्राले विशेष कन्पारा, गर्दनको साइडमा असर पुर्याउन सक्छ । जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुन सक्छ । जसले गर्दा कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने समस्या हुन सक्छ ।
यसले आफ्नो घर जोकोहीको टाउकोमा पनि बनाउन सक्छ । त्यो मानिस सफा होस् या मैला, कालो होस् या गोरो यो जसको पनि टाउकोमा पर्न सक्छ । त्यसैले कसैले जुम्रा परेकोलाई फोहोरी भन्छ भने त्यसलाई जुम्राले सबैलाई मन पराउँछ भन्ने कुरा थाहा रहेनछ भन्नुपर्ला ।
धेरैजसो त बच्चाहरु लाई जुम्रा पर्ने गर्छ । जो बच्चा स्कूल जान्छन्, तिनीहरुलाई जुम्रा परेको देखिन्छ । किनभने जुम्रा एउटा बच्चालाई पर्यो भने अरु बच्चाहरुलाई पनि त्यो अति चाँडो र सजिलै सर्ने गर्छ । स्कूलमा धेरै विद्यार्थीहरु हुन्छन् । त्यसैले एउटा विद्याथीलाई जुम्रा प(यो भने त्यही कक्षाका अन्यलाई पनि सर्न सक्छ ।
दुईजनाले एउटै टोपी, काइँयो आदि प्रयोग गर्यो भने जुम्रा सजिलै एकबाट अर्कोलाई सर्न सक्छ । कहिलेकाहीँ त एउटै लुगा, सिरानी र खाट प्रयोग गर्दा पनि जुम्रा सर्ने गर्छ । जुम्रा कुनै पनि यस्ता वस्तुहरुमा अड्केर बसेको छ र त्यही सामाग्री अर्को व्यक्तिले प्रयोग गर्यो भने पनि जुम्रा सर्ने गर्छ । अझ कहिले त दुईजनाको टाउको एकआपसमा ठोकियो भने पनि एकबाट अर्कोमा जुम्रा सर्ने गर्छ ।
कसरी हटाउन सकिन्छ जुम्रा र लिखा ?
जुम्राबाट छुटकारा पाउने औषधि बजारमा धेरै पाइन्छ । जुम्रा परेको बेलामा घेरै घरेलु उपायहरू अपनाएर पनि हटाउन सकिन्छ । कहिलेकाहीँ जुम्राबाट छुट्कारा पाउन निकै गाह्रो हुन्छ ।
- सबैभन्दा पहिला राम्रो खाले काइँयोको प्रयोग गरेर कपालमा रहेको जुम्रा र ससाना अण्डाहरू हटाउन सकिन्छ ।
- पूजा गर्ने कपुरलाई तोरीको तेलमा भिजाएर राति सुत्ने बेला लगाउने र बिहान उठेर नुहाउँदा पनि जुम्राबाट छुटकारा पाउन सकिन्छ ।
- चार चम्चा दहीलाई औंलाको सहयोगले स्काल्पमा लगाउने ३० मिनेटपछि कपाल धुने ।
- कपाललाई कम्तीमा पनि साताको दुईपटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्यून हुन्छ ।
- प्याजको रसमा थोरै बेसार मिसाएर तथा कागतीको रस कपालको जरामा लगाउने र २० मिनेटसम्म राखेपछि स्याम्पुले कपाल धुने ।
- एक चम्चा मेथीका दाना रातभर भिजाएर त्यसको पेस्ट कपालमा लगाउने र३० मिनेटपछि स्याम्पुले कपाल धुने ।
- पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने त्यस पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने ।
- अरुको काइँयो वा अन्य कुनै लुगा, टोपी जस्ता सामाग्रीहरु प्रयोग गर्नुहुँदैन ।
- जुम्रा नियन्त्रणमा सिलिकन भएको स्याम्पु प्रयोग गर्न सकिन्छ ।
- कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।