नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०र०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।
आइएनएफ नेपालद्वारा सञ्चालित उक्त अस्पतालबाट एक वर्षको अवधिमा १७ हजार २ सय ६५ जनाले ओपिडी सेवा लिएको अस्पताल प्रमुख मङ्गल थारुले जानकारी दिए । उनका अनुसार छाला सम्बन्धी १४ हजार २ सय ९७ जनाले सेवा लिएका थिए भने २ हजार ९ सय ६८ जना कुष्ठरोगीका बिरामीले सेवा लिएका थिए । यो अस्पतालमा छाला र कुष्ठरोगका बिरामीले सेवा लिने गरेका छन् ।
१ सय २२ जना कुष्ठरोग बिरामी भर्ना भएका थिए । कुष्ठरोगका बिरामीहरूको निःशुल्क उपचार हुने गरेको छ । कुष्ठरोगको जटिलताको अवस्था हेरेर अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको प्रमुख थारुले जानकारी दिए । ‘हामीले कुष्ठरोगी सबैको निःशुल्क उपचार गर्दै आएका छौँ, उनले भने–‘जटिल प्रकारका बिरामीहरूलाई एकदेखि डेढ महिनासम्म अस्पतालमै भर्ना गरेर निःशुल्क उपचार गरेर पठाउने गरेका छौँ ।’
साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०र०८१ मा १ सय ४६ जना कुष्ठरोगीको रोग निदान गरेको छ । ती मध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका ५ जना र १२ जना अन्य जिल्लाका रहेका छन् । गएको आर्थिक वर्ष २०७९र०८० मा १ सय २६ जना रोगीको रोग निदान भएको थियो । यो अघिल्लो आर्थिक वर्ष भन्दा २० जनाले बढी हो । २४ शय्याको यो अस्पतालले ओपिडी, अन्तरङ्ग, ल्याब्रोटरी, फार्मेसी लगायतको सेवा दिँदै आएको छ । गएको आर्थिक वर्ष कुष्ठरोग निदानका लागि छालाको स्मेर जाँच सेवा ८ सय ३८ जनाले लिए भने १२ हजार १ सय ६९ जनाको ल्याब टेस्ट गरिएको छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा भारतबाट बिरामीहरू उपचारका लागि अस्पताल आउने गरेको प्रमुख थारुले बताए । कुष्ठरोगको जोखिम अहिले पनि कायमै रहेको उनले बताए । बाँके जिल्लाका खजुरा, डुडुवा, नरैनापुर र नेपालगञ्जमा केसहरू बढी देखिएको उनको भनाई छ । बिरामी समयमै उपचार गर्न नआउँदा उपचारको समय पनि लम्बिने र बिरामीले समेत दुःख पाउने गरेको उनले सुनाए । दातृ निकायबाट आउने अनुदान घटबढ हुँदा अस्पताललाई चुनौती रहेको उनको भनाई छ ।
सरकारले समेत कुष्ठरोगी बिरामीलाई यातायात खर्च बापत दिँदै आएको एक हजार रुपैयाँ यो वर्ष कटौती गरेको छ । यो बिरामीका लागि समस्या हो । कम्तीमा उपचार गरेर घर फर्किदा यातायात खर्च नियमित हुनुपर्नेमा थारुको जोड छ । यस्तै स्वास्थ्य चौकीमा पाउनुपर्ने औषधि समेत नियमित नहुँदा बिरामीहरूले अनावश्यक दुःख पाउनुपरेको गुनासो सुनाउने गरेका छन् ।