गर्भावस्था हरेक महिलाको जीवनको एक सुन्दर र महत्त्वपूर्ण समय हो । यस समयमा आमा र बच्चा दुवैको स्वास्थ्यको ख्याल राख्नु धेरै महत्त्वपूर्ण हुन्छ । किनभने गर्भावस्थाको समयमा स्वास्थ्यमा ध्यान नदिँदा आमालाई मात्र नभई बच्चालाई पनि असर गर्न सक्छ। गर्भावस्थामा हेरचाहलाई तीन भागमा विभाजन गरिएको छ। सबैभन्दा पहिले प्रसवपूर्व हेरचाह, गर्भावस्था र प्रसवोत्तर हेरचाहको समयमा आउँछ। यी तीनवटै हेरचाहले आमा र बच्चाको स्वस्थ जीवन सुनिश्चित गर्छन्। यी समयमा केहि महिलाको गर्भावस्थामा जटिलताहरु पनि देख्ने सम्भावना हुन्छ । गर्भावस्थामा देखा पर्ने समस्याहरु ? ध्यान दिनुपर्ने कुराहरु ? गर्भवतिको कसरी हेरचाह गर्ने ? लगायतका विषयमा निसर्ग हस्पिटलकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा नजमुस्सबा अन्सारी सँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
सामान्यतया गर्भावस्था भनेर शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधिलाई भनिन्छ । सामान्यतया गर्भावस्थामा तीन वटा समय हुन्छ। त्यसमा पहिलो तीन महिना गर्भ बसेपछि तिन महिना भित्र डाक्टर कहाँ गई केहि रगत जाँच तथा भिडियो एक्सरे गर्न जरूरी हुन्छ । यस बाट बच्चा सहि ठाँउमा बसेको नबसेको र आमा लाई कुनै स्वस्थ्य समस्या छ छैन् थाहा हुन्छ । त्यसपछि १३ हप्तादेखि २८ हप्तासम्मलाई दोस्रो समय मानिन्छ। यस समयमा थप रगत जाँच तथा पुन भिडियो एक्सरे र गर्भवतिलाई आवस्यक खोप लगाईन्छ । २८ हप्तादेखि ४० हप्तालाई तेस्रो समय भनिन्छ। यो समयमा महिलाहरुले आफ्नो र गर्भमा भएको बच्चाको विशेष ख्याल गर्नुपर्छ। र आवस्यकता अनुसार रगत जाँच तथा भिडियो एक्सरे गरि आमा र बच्चाको स्वस्थ्य जाँच गर्न आवस्यक हुन्छ ।
गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको ३ महिनामा वाक–वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । तीन महिनापछि यो समस्या आफैं बन्द भएर जान्छ। कसै कसैमा गर्भावस्थामा मधुमेह, रक्तचाप देखिनु समान्य हुन्छ । गर्भावस्थामा शरीरमा रहेका हर्मोनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हुन्छ। यस अवस्थामा डाक्टरको सल्लाह लिन सकिन्छ ।
गर्भावस्थामा के कस्ता समस्या देखा पर्छन् ?
गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन्। सामान्यतया गर्भावस्थामा बान्ता हुने, तल्लो पेट दुख्ने, पिसाबमा इन्फेक्सन हुने, रिँगटा लाग्ने हुन्छ। त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ। गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन्। सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको हुन्छ । गर्भावस्थाको सुरुमा रक्तश्राव भएको अवस्थालाई जटिल समस्या मानिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना हुन्छ यस अवस्थामा डाक्टर कँहा गई जाँच गर्ने र सबै ठिक भएको अवस्थामा प्रयाप्त आराम गर्ने । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन्। यस्ता सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ।
गर्भावस्थामा देखिने जटिलताहरु
- गर्भावस्थामा पेटमा शिशु चल्ने गर्छन् । दैनिक १० पटकभन्दा बढी चलेको छैन भने ,
- बच्चा बसेको पानीको थैलीबाट पानी बगेको वा पानी कम भएको अवस्थामा ,
- रक्तश्राव भएको अवस्थामा,
- आकस्मिक चोटपटक लागेमा ,
- गर्भवती हुँदा उच्चरक्तचाप छ भने ,
- गर्भवती हुँदा महिलामा मधुमेह देखिन सक्छ । पहिला नै परिवारमा मधुमेह कसैलाई भएको छ भने पनि यो अवस्थामा देखिने सम्भावना बढी हुन्छ ।
- थाइराइड छ भने पनि गर्भावस्थामा जटिलता आउने हुन्छ ।
- जन्डिसको कारणले पनि जटिलता आँउछ ।
- पाठेघरको मुख बलियो छैन भने पनि बच्चा खेर जाने हुन्छ। पाठेघर सानो, पाठेघरको मुख खुकुलो भएमा सन्तान अडिन सक्दैन र पाठेघरमा संक्रमण भएमा पनि गर्भ खेर जान्छ ।
यसका कारणहरु
- गर्भावस्था आउने डिप्रेसन ,
- गर्भावस्था अनियन्त्रित मधुमेह र उच्च रक्तचाप ,
- पाठेघरमा मासु पलाउनु ,
- गर्भावस्थामा रक्सी तथा धुम्रपान गर्नु ,
- अनावश्यक औषधि प्रयोग ,
- पोषणको कमी ,
- वंशाणुगत रोग,
- मोटोपन,
- १८ वर्षमुनि वा ३५ भन्दा माथि उमेर,
- स्वास्थ्य प्रति ख्याल नगर्नु ,
- आइरन, प्रोटिनयुक्त र सन्तुलित खाना नहुनु ,
- मानसिक चिन्ता,
गर्भावस्थामा पारिवारिको भुमिका
गर्भावस्थामा परिवारको महत्त्वपूर्ण भुमिका हुन्छ । यस समयमा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । शरीरमा रहेका हर्मोनमा परिवर्तन हुने हुदा उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्छ । भावनात्मक रुपमा पनि उनीहरु स्थिर हुँदैनन् । केही डर, केही पीर, केही दुःख, केही उत्साहका कारण उनीहरुको मनोदशा बद्लिरहन्छ । यस्तो अवस्थामा उनीहरुको छिनछिनमा परिवर्तन भएको व्यवहारलाई बुझेर र भावना सम्झाउने वा राम्रो कुराकानी गर्नुपर्छ ।
एक महिलाका लागि आमा हुनु वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान नै हुन् । श्रीमतीलाई कस्तो वातावरण दिने ? कसरी खुसी तुल्याउने ? कसरी शान्त राख्ने ? कसरी उनको मनबाट भय हटाउने ? यी सबै कुरामा श्रीमानले खास भूमिका खेल्नुपर्ने हुन्छ ।
गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु
गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।
- लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन नगर्ने,
- जथाभावी औषधी सेवन नगर्ने,
- झै-झगडा, तनाव, रिस, आवेग, डर, चिन्ता कम गर्ने ,
- गह्रौं काम नगर्ने ,
- आराम गर्ने ,
- पौष्टिक खानेकुरा बढी खाने ,
- नियमित स्वास्थ्य जाँच गर्ने ,
- ताजा खाना तथा ताजा तरकारीहरू फलफूल धेरै खाने ,
- चिकित्सकको सल्लाह अनुसार शारीरिक व्यायाम गर्ने ,
- धेरै तर उमालेको पानी खाने ,
- माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी साथै दूध दहीजस्ता क्याल्सियम तथा प्रोटिनयुक्त खानेकुरा पर्याप्त खाने ,
गर्भावस्थामा देखिने जटिलताहरु कम गर्न सानो उमेरमा विवाह नगर्ने, छिटो बच्चा नपाउने, एउटा बच्चा पाई हाले अर्को बच्चाबीचको गर्भान्तर कम्तीमा पाँच वर्ष राख्नु पर्दछ । गर्भ बसे पछि समय समयमा गर्भको चेकजाच गरेर तथा पोषणतत्वयुक्त आहार सेवन गर्ने, शारीरीक तथा मानसिक रुपले स्वस्थ्य हुने । कुनै स्वास्थ्य समस्या भए समयमै रोगको पहिचान गरी उपचार गर्ने यसो गर्दा गर्भावस्थामा आउने जटिलतालाई कम गर्न सकिन्छ ।