कहिलेकाहीँ बसिरहँदा घुमाएजस्तो, हल्लाएजस्तो लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसूस हुनुलाई रिंगटा वा चक्कर लाग्नु भनिन्छ । चक्कर लाग्नु आम समस्या हो । कहिले कहिं चक्कर लाग्नु सामान्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा चक्कर लाग्न सक्छ । तर, पटक पटक चक्कर लाग्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । चक्कर किन आउँछ ? रिंगटा लाग्नुका कारणहरु ? र यसको उपचार ? यसै बारेमा एभरेष्ट अस्पतालका जनरल फिजिसियन डा.सरोज गौडेल सँग गरेको कुराकानी आधारित् :
आफु वा आफ्नो वरपरको वस्तु घुमाएजस्तो हुनु, टाउको घुमाएको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसूस हुनुलाई रिंगटा लाग्नु भनिन्छ । रिंगटा लाग्दा टाउको चर्कनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अध्याँरो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु । मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दा र हिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् ।
चक्कर किन आउँछ ?
शरीरलाई सन्तुलनमा राख्न मस्तिष्क, कानको भित्री भाग, आँखा र ढाडको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले शरीरको सन्तुलन कायम गर्ने कुनैपनि अंगमा खराबी भयो भने सन्तुलन बिग्रिएर चक्कर लाग्ने हुन्छ । विशेषगरी कानको समस्याका कारण मानिसलाई रिंगटा लाग्ने गर्छ । कानको भित्र कुनै पनि भागमा समस्या भएर वा नशा सुनिएर अथवा भाइरल इन्फेक्सनले गर्दा भित्री कानमा एक किसिमको पानी जस्तो तरल पदार्थ हुन्छ त्यसको संचलानमा अबरोध भयो भने कहिले काँहि त्यँहा सानो ढुंगा जस्तो बनेर अबरोध गरेमा त्यस्ले रिङ्गटा लाक्छ । ।
चक्कर लाग्ने कारण
- कानको भित्री भागमा कुनै समस्या भए
- ब्रेन ट्युमर
- ब्लडप्रेसर कम हुने व्यतिले जुरुक उठँदा
- आँखामा समस्याले
- गर्दनमा नसा च्यपिएका कारण
- ब्लडप्रेसरमा कमी र बेसी हुनु
- डिहाइड्रेसन
- गर्भावस्थामा कम रक्तचाप, थाइराइड, मासिक महिनावारीको कारणले
- अत्यधिक शारीरिक तथा मानसिक थकानले
- शरीरमा कमजोरीले
- शरीरमा हेमोग्लोबिन अथवा रगतमा चिनीको मात्रा कम हुँदा
रिंगटा लाग्नु कुन बेला जटिल हुन्छ ?
चक्कर लाग्ने प्राय धेरै मानिसमा हुन्छ । यसो भन्दैमा यसलाई सधै सामान्य रुपमा लिनुभने हुदैन् । सामान्यतया कमजोरीको कारणले गर्दा वरिपरि घुमाएको जस्तो भको छ र एकछिन्मै ठिक भयो भन्ने सामान्य हो तर पटक पटक रिंगटा लाग्यो भने यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ । रिगंटा लागेर लड्नेसम्म भयो, छातीमा दुखाइ, गम्भिर रुपमा टाउको दुख्ने, बढ्दो मुटुको धड्कन, सास फेर्न गाह्रो, हेर्न वा बोल्न गाह्रो जस्तो महसुस भइरहेको छ भने खतरनाक हुन सक्छ । रिंगटा लाग्नु गम्भिर रोगको लक्षण पनि हुन सक्छ त्यसैले यसतो लक्षण देखिए तत्काल डाक्टरलाई भेट्ने ।
रिंगटा लागे के गर्ने ?
- चक्कर आउँदा आरामसाथ बस्नु वा ओछ्यानमा सुत्ने ।
- मिल्छ भने ब्लडप्रेसर र सुगर जाँच गर्ने ।
- पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिंड्ने ।
- चक्कर आयो भने बिस्तारै बिस्तारै गहिरो सास लिने ।
- मोटरसाइकल, गाडी, स्कुटर चलाउदा ध्यान दिने ।
- चक्कर आउनासाथ कुनै शारीरिक गतिविधि नगर्ने ।
- पानि वा तरल पदार्थ पिउने ।
समस्या हुन नदिन ध्यान दिनु पर्ने कुराहरु
- पर्याप्त निन्द्रा
- सन्तुलित आहार खाने
- दिनमा ३ लिटर सम्म पानि पिउने
- समय समयमा स्वास्थ्य जाँच गर्ने
- तौल संतुलनमा राख्ने
- नियमित रुपले व्यायाम
- धुम्रपान मद्यपान सेवन नगर्ने