काठमाडौं । एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर)लाई लिएर गरिएको रिपोर्टिङका आधारमा हेल्थ टिभी अनलाइनकी कल्पना आचार्य र स्वास्थ्यखबरका धनबहादुर खड्का 'ग्लोबल एएमआर मिडिया अवार्ड २०२४' बाट पुरस्कृत भएका छन्।
स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर सम्बन्धी संयुक्त राष्ट्र संघको उच्च स्तरीय बैठक यूएनजीए हाइ लेबल मिटिङ सम्बन्धी उत्कृष्ट रिपोर्टिङ गरेवापत अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो। त्यसैगरी नेपाल लाइभ तथा स्वास्थ्यखबरका धन बहादुर खड्काले साउथ इस्ट एसियाबाट तेस्रो पुरस्कार पाएका छन्। एएमआर सम्बन्धी लगातार रिपोर्टिङ गरे वापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। साउथ इस्ट एशियाबाट नेपालका खड्काले तेस्रो पुरस्कार पाएका छन् । भने यो विधामा बंगलादेशका नुरुल इस्लाम हासिब प्रथम तथा इन्डियन एक्सप्रेसकी अनुराधाले दोस्रो पुरस्कार पाएकी छन् ।
बिहिबार ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा आचार्य र खड्कालाई लाई उक्त अवार्ड प्रदान गरिएको हो। एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी रिपोर्टिङ गर्ने ४३ देशका ४१३ जना पत्रकारहरुले उक्त अवार्डका लागि आवेदन दिएका थिए।
ग्लोबल एएमआर मिडिया अलायन्सले पहिलोपटक यो वर्षदेखि एएमआर अवार्ड प्रदान गर्न थालेको हो। त्यसका लागि विश्वभरबाट आवेदन आह्वान गरिएको थियो। गत १५ मे २०२४ देखि २२ अक्टोबर २०२४ सम्म प्रकाशित भएका समाचार फिचर, भिडियो स्टोरीलाई अवार्डका लागि छनौट गरिएको थियो। ६ वटा डब्लुएचओ रिजन साउथ इस्ट एशिया, अफ्रिकन, इस्टर्न मेरिडियन, प्यान अमेरिकन, वेस्टर्न प्यासिफिक, यूरोपियन रिजनबाट ३ जनालाई पहिलो, दोस्रो र तेस्रो अवार्ड प्रदान गरिएको थियो। यसैगरी ग्लोबल क्याटेगोरी ३ जना र यस वर्षको यूएनजीए हाइ लेबल मिटिङ मा स्पेशल रिपोर्टिङका एउटा विशेष अवार्ड प्रदान गरिएको हो।
भर्चुअल रुपमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन, एएमआर विज्ञ, सरोकारवाला निकायका प्रतिनिधी उपस्थित थिए । यसैगरी नेपालबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा तथा एफएचआइ ३६० का निर्देशक भगवान श्रेष्ठ सहभागी हुँदै आफना भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण एचआइभी तथा क्षयरोगका क्षेत्रमा काम गर्दै आएकी प्रसिद्ध जर्मन नायिका एनाबेल मेन्डेङले गरेकी थिइन ।