जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विकासमा वर्तमान सरकार गम्भीर रहेको बताए।
प्रधानमन्त्री ओलीले दुर्गम कर्णालीसहित पश्चिम नेपालको भरोसा केन्द्र बनेको प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले कुनै कुराको कमी हुन नदिने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन बुधवार जुम्ला आइपुगेका प्रधानमन्त्री ओलीले विशेषज्ञ डाक्टर उत्पादन र स्वास्थ्य सेवा प्रवाहको परिकल्पना नगरेका कर्णालीवासीले घर घरमा गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गरे।
“प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न सफल भयौ । यो हाम्रो गौरवको कुरा हो । कुनै बेला डाक्टर नपाइने ठाउँमा अहिले दक्ष जनशक्ति दीक्षित भएका छन् । अब कर्णालीको स्वास्थ्य सेवाले थप गति लिने विश्वास छ । अब कर्णाली बन्दै छ । यहाँका सम्भावनाले कर्णाली दुर्गम रहेन । अब चुनौतीहरू घटेका छन् ।”, प्रधानमन्त्री ओलीले भने,
“आज हामीले सुविधायुक्त शैक्षिक भवन समेत उद्घाटन गरेका छौँ । यसले अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई सकारात्मक बल पुग्ने छ ।”, प्रधानमन्त्री ओलीले भने । कर्णालीका १० सहित सुदूरपश्चिमका ३ जिल्ला गरी १३ जिल्लामा सेवा प्रवाह गरिरहेको कर्णाली प्रतिष्ठानको वृद्धि विकासमा वर्तमान सरकारको ध्यान पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेट बैठकमा प्रतिष्ठानका विभिन्न विषयमा गहन छलफल गरिएको जानकारी समेत दिए।
उनले दैलेखको राकम कर्णालीमा बन्ने एक सय शय्या अस्पताल र ट्रमा सेन्टर निर्माणमा समेत सरकारको ध्यान पुगेको बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले प्रथम दीक्षान्त समारोह गर्न पाउँदा गौरव महसुस भएको बताए । कोरोना कालमा देशकै उत्कृष्ट सेवा प्रवाह गरेको प्रतिष्ठानले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
हाल प्रतिष्ठानमा एमडी, एमबीबीएस, विएनएस लगायतका १४ वटा विभिन्न स्नातक स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालित रहेको उनले जानकारी दिए ।