चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरूले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् ।
क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरूको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरूले बृहत् छलफल गरेका हुन् ।
सोसाइटीको छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरूले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्रा.डा शीतल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा ६५० प्रतिनिधि रहेको जनाउँदै अधिकारीले आयोजकसहित यो सङ्ख्या ७५० हाराहारी पुगेको बताए । उनीहरूले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका थिए । सोसाइटीका कार्यशाला संयोजन गर्नुभएका डा हेमराज पनेरुका अनुसार दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरूका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुले छलफलका क्रममा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताए ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मेडिकल कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहट्ठाले अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने जनशक्तिको यो खालको अन्तर्क्रियाले नेपालको उपचार पद्धतिमा टेवा पुग्ने बताए ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले सघन उपचार कक्षको उपचारमा चिकित्सक र नर्सको उत्तिकै भूमिका हुने भन्दै यो कार्यक्रमले नेपालका चिकित्सक र नर्सलाई थप परिष्कृत गर्दै लैजान सहयोग पुग्ने बताए ।