काठमाडौं - कोराना संक्रमण भई होम आइशोलेसनमा रहेका बिरामीलाई लक्षीत गरी हेल्थ फाउण्डेसन नेपालले कोभिड १९ टेलि हेल्थ सेवा सञ्चालनमा ल्याएको छ ।
होम आइशोलेसनमा बसेका बिरामी समयमा अस्पताल जान समस्यामा परेका वा आवश्यक समयमा राम्रो हेरचाह नपाएका बिरामीलाई लक्षित गरि हेल्थ फाउण्डेसन नेपालले कोभिड १९ टेलि हेल्थ सेवा सञ्चालनमा ल्याएको कोभिड १९ टेलि हेल्थ सेवामा भोलेन्टिएर गरिरहेका एक चिकित्सक डा निरज न्यौपानेले बताए ।
कोभिड १९ टेलि हेल्थ सेवा होम आइशोलेसनमा बसेका बिरामीलाई अस्पताल जानु अघि केहि स्वास्थ्य समस्या आए के गर्ने भन्ने परामर्श दिन सञ्चालनमा ल्याइएको हो । यो सेवा होम आइसोलेशनमा रहेका बिरामी कस्तो अवस्थामा अस्पताल जाने, अस्पताल जानु अघि बिरामीमा अक्सिजनको कमी जस्ता अन्य समस्या भए अस्पताल नपुर्याउनजेलसम्म पुलको भुमिका निर्वाह गर्दछ । साथै सामान्य समस्या भएका संक्रमितले कुन औषधिको प्रयोग गर्ने परामर्श लिन पनि यो सेवा निकै उपयोगी छ ।
उनी भन्छन्, यो सेवा बिशेषत कोभिड १९ का बिरामलिाई लक्षित गरी सञ्चालन गरिएको हो तर यो संकटको अवस्थामा अन्य स्वास्थ्य समस्या भएर फोन गरेका बिरामीका लागी पनि परामर्श दिइरहेका छौं ।
हेल्थ फाउण्डेसन नेपालले स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको समन्वयमा कोभिड १९ टेलि हेल्थ सेवा सञ्चालनमा ल्याएको हो । सो सेवा सञ्चालन भएदेखि हालसम्म १७ सय बढि बिरामीहरुले परामर्श लिएका छन् । तिमध्ये झण्डै ५ सय कोभिडका बिरामीहरुले परामर्श लिएका छन् ।
परामर्श लिएका बिरामीहरुमध्ये फलोअप गर्नुपर्ने र नपर्ने बिरामीहरुलाई छुट्याइएको छ । फलोअप गर्नुपर्ने बिरामीको स्वास्थ्य अवस्था अनुसार फलोअप पनि गरिरहेको फाउण्डेसनले जनाएको छ ।
हालको माहामारीमा अस्पताल जान समस्या भएकाले केहि बिरामीले बिज्ञको परामर्श बिना जथाभावि रुपमा फार्मेसिबाट औषधि किनेर खान सक्छन् । जथाभावि रुपमा औषधि किनेर खाँदा भविष्यमा नकरात्मक असर पर्ने भएकाले जनमानसमा सचेतना दिन समेत यो सेवाले सहयोग पुर्याउँने देखिन्छ ।
सो सेवा प्रदान गर्नको लागी हाल ५३ जना अनुभवी तथा तालिम प्राप्त डाक्टरहरु आवद्ध रहेका छन् । बिहान ६ बजे देखि राती १० बजे सम्म नेपालको जुनसुकै स्थानबाट आवश्यक स्वास्थ्य परामर्श लिन सकिन्छ ।
यो सेवा सञ्चालनमा आएको करीब दुई हप्ता भएको छ । हाल दैनिक लगभग एक सय बिरामीले सेवा लिने गरेका छन् ।
होम आइसोलेसनमा बसेका संक्रमितले श्वास फेर्न गार्हो हुने, छाती दुख्ने, ज्वरो आउने, खोकी तथा पखाला लाग्ने जस्ता समस्या भएमा स्वास्थ्य परामर्शको लागि ९८८६०४९९१० नम्बरमा फोन गरी स्वास्थ्य परामर्श लिन सक्ने डा निरज न्यौपाने बताए।