काठमाडौं । तनावका कारण पनि कपाल छिटो सेतो हुने वा फुल्ने अध्ययनले देखाएको छ।कपाल फुल्नुलाई हामी बुढेसकालको संकेतको रुपमा बुझ्छौं । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जान्छ । यो सामान्य र स्वभाविक प्रक्रिया हो ।
कपाल फुल्नुका विभिन्न कारणमध्ये एक तनाव पनि रहेको पहिलो पटक प्रमाणित भएको हो । कोलम्बिया युनिभर्सिटी इरिविङ मेडिकल सेन्टरका वैज्ञानिकले तनाव लिन छाडेमा सेतो फुलिसकेको कपाल फेरि पनि कालो हुनसक्ने दाबी गरेका छन्।
युवा उमेरको समयमा शरीरको कोशिकाले कपाललाई कालो राख्ने विशेष प्रकारको मिलेनोसाइट्स नामक पिगमेन्टको उत्पादन गर्छ। तर मानिसको उमेर बढ्दै जाँदा मिलेनोसाइट्सको मात्रा घटेर बिस्तारै कपालको रङ सेतो हुन थाल्छ । तनाव र कपालबीचको सम्बन्ध बुझ्नका लागि १४ जना व्यक्ति ९औसत ३५ वर्ष उमेरका महिला तथा पुरुष० को कपालको नमूना लिइएको थियो ।
किन युवा उमेरमै फुल्छ कपाल ?
- वंशाणुगत कारण
- मेलेनिनको कमी
- दीर्घरोग र औषधीको सेवन
- प्रदूषण
- मानसिक तनाव अर्थात डिप्रेसन
- हार्मोन्स
- रसायन
- कपालको विकासका लागि तरल पदार्थको सेवन
उपचार
सेतो कपालको उपचार हुँदैन तर कपाल सेतो हुनुको पछाडिको कारण पत्ता लगाएर त्यसको उपचार गर्ने हो भने यो समस्या धेरै हदसम्म हटेर जान्छ । बरु पोषणयुक्त आहार र घरेलु उपाय अवलम्बन गर्दा समस्यामा कमी ल्याउन सहयोग पुग्छ ।
उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यदपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ ।
नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ। अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ । कपालमा काँचो मेवा र कालो तिलको रसको प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी, शरीरमा भिटामिनहरु भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन नदिने, समय समयमा शरीरको जाँच गराउने गर्दा समस्या पहिचान गर्न सकिन्छ । सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुराहरुको सेवन गर्ने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गर्ने, केमिकलयुक्त हेयर कलर तथा अन्य प्रसाधनको प्रयोग बन्द गर्ने हो र कपाल फुल्नुको मूल कारण पत्ता लगाएर त्यसको उपचारतिर लाग्ने हो भने कपाल फुल्ने समस्या हट्दै जानेछ ।