स्वास्थ्य मन्त्रालयले अक्सिजनका सिलिन्डर समयमै कम्पनीमा पुनः भर्नका लागि फिर्ता नभइरहेको बताउँदै 'आगामी दिनमा त्यसले समस्या निम्त्याउने' भनेर सजग गराएको छ।
सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सिलिन्डर अनावश्यक रूपमा घरमा थुपारेर राखिँदा 'आपूर्ति चक्र बिथोलिने र पुनः अस्पतालमा हाहाकार हुने डर भएको' बताए।
अधिकारीले थपे, "अक्सिजन उत्पादकबाट गुनासो आउन थालेपछि धेरै सहज भइसकेको आपूर्तिकाबीच पनि हामीलाई चिन्तित पारेको छ।"
नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घले सिलिन्डरहरू सहज गराउन सकिएन भने प्लान्टहरू 'बन्दै गर्नुपर्ने अवस्थाको नजिक पुगिसकेको' जनाएको छ।
अवस्था
बुधवार स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै केही समयदेखि अस्पतालमा अक्सिजन आपूर्ति सहज भएको जनाउँदै व्यक्ति तथा सङ्घसंस्थालाई सिलिन्डर स्वामित्व रहेका कम्पनी वा अस्पतालमै बुझाउन आग्रह गरेको छ।
मन्त्रालयले अक्सिजनको प्रयोग 'औषधीय विषय' भएको भन्दै त्यो प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर प्रयोग हुन नहुने भन्दै चेतावनी दिएको छ।
अस्पताल र उद्योगको स्वामित्वमा हुने सिलिन्डरहरू सामान्यतः एक-दुई दिनका अन्तरालमा पुनः भर्नका लागि फर्कने चक्रमा हुने बताइन्छ।
तर त्यसो नभइरहेको बताउँदै सङ्घका महासचिव नारायण तिमल्सिना भन्छन्, "कम्तीमा ५,००० सिलिन्डर सरकारले उपलब्ध गराइदिओस्, त्यो भरेर वितरण गर्छौँ भनेर मन्त्रालयलाई पत्र लेखेका छौँ।"
तर त्यसो हुन नसकेको अवस्था सबैका लागि जटिल हुने भन्दै उनले थपे, "भोलिबाटै हामी बन्द गर्नेबारे सोच्ने अवस्थामा पुगेका छौँ।"
चाप
कोभिड महामारीको पछिल्लो लहर उच्च बिन्दुमा पुगेको बेला नेपालमा अक्सिजनको माग दैनिक ५०,००० सिलिन्डरसम्म पुगेको व्यवसायीहरूले बताएका छन्।
पछिल्ला केही दिनमा त्यसमा केही कमी आएको देखिए पनि सिलिन्डरहरू नहुँदा समस्या उस्तै देखिएको उनीहरूको भनाइ छ।
तिमल्सिना थप्छन्, "यतिखेर अक्सिजन सिलिन्डर बजारमा जाने हाम्रो नियमित प्रणाली नै बिथोलिएको छ। उद्योगबाट उठाइएका सिलिन्डरहरू अस्पताललाई बुझाइएको छ।"
"कतै अस्पतालमा होल्ड छन् भने कतै त्यहीँबाट बाहिरिएर फिर्ता आएका छैनन्।"
घरमै अक्सिजन
पछिल्ला केही सातामा अस्पतालमा उच्च चाप भएर शय्या अपुग भएका बेला धेरै बिरामीले घरमै अक्सिजन लिएका थिए।
अक्सिजनको नियमित आपूर्तिमा समेत असर परेर मानिसहरूले ज्यान गुमाउनु गरेका विवरण आएपछि त्रसित मानिसहरूले घरमै अक्सिजनको जोहो गर्ने क्रम बढेको बताइएको छ।
कोभिडको पछिल्लो लहर देखा परेयता ५,००० अक्सिजन सिलिन्डरहरू थपिएको स्वास्थ्य मन्त्रालयले सोमवार जनाएको थियो।
नेपालमा हाल ३२ अक्सिजन प्लान्टहरू रहेकामा थप १९ जडानको प्रक्रियामा रहेको, लिक्विड अक्सिजन ट्याङ्कहरू तीनबाट २७ पुर्याइने समेत स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जनाएका थिए।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारी भन्छन्, "यी पूर्वाधार यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यमा छन्।"
यसबीचमा पाँच र १० लिटर क्षमताका ९०० अक्सिजन कन्सन्ट्रेटरहरू समेत बजारमा थपिएका छन्।
कति अक्सिजन चाहिन्छ?
नेपालभर व्यावसायिक उद्योगहरूले दैनिक रूपमा १५,००० ठूला-साना अक्सिजन सिलिन्डरहरू भर्ने बताइन्छ।
केही अस्पतालले आफ्नै प्लान्ट र लिक्विड अक्सिजन ट्याङ्कहरू राखेर समेत बिरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्था गर्छन्।
नयाँ पूर्वाधार र थप सिलिन्डरहरू थपिइरहेको अवस्थामा कतिपय स्वास्थ्यविज्ञहरूले त्यसको आवश्यकता अब पहिले जसरी नपर्ने र अन्य पक्षहरूमा पनि उत्तिकै सोच्नुपर्ने बताउँछन्।
डा. अधिकारी भन्छन्, "उद्योगहरूले ३०,००० सिलिन्डर प्रतिदिन उत्पादन गर्न सक्ने अवस्थामा हाम्रो क्षमता पुर्याउनुपर्ने छ। किनकि तेस्रो लहरको सम्भावनाबारे समेत चर्चा चलेका छन्।
"उद्योगहरूमा नियमित खपत हुने अक्सिजन अहिले अधिकांश त्यसतर्फ गएको छैन। अस्पतालहरूको आफ्नै प्लान्ट वा लिक्विड अक्सिजन ट्याङ्क निर्माण काम कहिल्यै खराब लगानी हुँदैन।"
नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घले भने यतिखेर बजारमा जथाभाबी रूपमा अक्सिजनका सिलिन्डरहरू आउँदा आफूहरूलाई अर्को असहजता भएको भन्दै सरकारलाई जानकारी गराएको बताएको छ।
महासचिव तिमल्सिना भन्छन्, "कुनै सिलिन्डरको तौल पुगेको छैन, कुनैमा अक्सिजनको साटो कार्बनडाइअक्साइडको वाल लगाइएको छ, न रेगुलेटर मिल्छ।"
"यसबाट हुने क्षतिको जिम्मेवारी र निगरानी कसले गर्ने?"
बिबिसी