काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्सिर ९ देखि १२ गते सम्म फोरम फर ईथिकल रिभ्यु कमिटी इन द एशिया एण्ड ओएस्टर्न प्यासिफिक रिजनको २४ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्न लागेको छ। उक्त सम्मेलनको नारा 'म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च' रहेको परिषद्का कार्यकारी निर्देशक डा. प्रमोद जोशीले बताए।
यस बृहत सम्मेलनमा स्वदेश तथा विदेशबाट पाल्नुहुने अनुसन्धान आचार संहिता विषयसंग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु नीति निर्माताहरु, प्राज्ञिक संस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको महत्वपूर्ण उपस्थिति रहने छन् ।
उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा हुने छ । यस सम्मेलनमा अनुसन्धान आचार संहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशीअनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुनेछ भने झण्डै ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरुको भौतिक उपस्थिति रहने छ ।
सम्मेलनमा विश्वका विभिन्न २३ देशहरु अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायतका सहभागीहरुको प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीहरुले भर्चुअल सहभागिता जनाउने जोशीले बताएका छन् । सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तराष्टिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीले निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतिकरण छनोट गरिएको छ । सो मध्ये ६१ वटा प्रस्तुतिकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतिकरणहरु राष्ट्रिय विज्ञहरुद्धारा गरिनेछ ।
सम्मेलनका मुख्य आकर्षणहरु :
- यो सम्मेलन नेपालमा नै पहिलो पटक अनि फरक विषय वस्तुमा विश्वका विज्ञ तथा दिगज व्यक्तित्वहरुको सहभागितामा हुनेछ ।
- यस कार्यक्रममा सहभागी हुने अनुसन्धानकर्ताहरुबीच कसरी व्यक्ति, समुदाय तथा राष्ट्रलाई फाइदा हुने तरिकाले अध्ययन अनुसन्धान गर्ने भन्ने विषयमा हुने छलफलले नेपालमा हुर्किदै गएको अनुसन्धान संस्कारलाई सम्मेलनले अझ बढी परिष्कृत तथा बलियो बनाउन मद्दत गर्नेछ ।
- परिषद्को मुख्य उद्देश्य अनुसन्धानको नियमन गर्ने, असल अनुसन्धान संस्कारको विकास तथा विस्तार गर्ने भन्ने विषयलाई पनि यस सम्मेलनले थप परिष्कृत गर्न टेवा पुयाउनेछ ।