गर्भ नबस्ने तथा बाँझोपनका कारण धेरै दम्पतिको वैवाहिक जीवन तनावपूर्ण बन्न गएको तपाई हामीले देखेकै छौं । अझ नेपाली समाजमा बच्चा नजन्मिएमा महिलाकै कमजोरी देखाउने चलन अझै कायम नै छ । बच्चा नजन्माएको नाममा कतिपयको घरबार बिग्रेको छ भने कति महिलाले ज्यान समेत गुमाउन पुगेका छन् ।
सामान्यतया दम्पतीले एक वर्षसम्म परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्ने गरिन्छ ।
बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन्। प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । कुनै बाँझोपन जन्मैदेखि हुन्छ भने कुनै पछि मात्र हुने गर्छ।
जन्मैदेखि हुने प्राइमरी बाँझोपनमा पाठेघर नहुने, डिम्बाशयको विकास राम्रोसँग नहुने, पाठेघरको इन्फेक्सन भएर ट्युब ब्लक भएर हुने, उमेर कटेर डिम्बाशयमा अण्डा नै कम हुने तथा श्रीमान्को शुक्रकीट नै कम हुने अथवा शुक्रकीट नहुनेजस्ता कुराहरू पर्छन्।
एउटा राम्रो बच्चा बस्नका लागि महिनावारीको बीचको समयमा अथवा महिनावारी भएको १४ देखि १८ दिनको बीचमा कुनै एउटा अण्डा बन्छ उक्त अण्डा डिम्बाशयबाट फुट्छ । फुटेको अण्डा ट्युबमा जान्छ र त्यहाँ बस्छ, त्यसै समयमा दम्पतीबीच शारीरिक सम्बन्ध हुन्छ भने ट्युबमा शुक्रकीट र अण्डको मिलन हुन्छ र बच्चा बन्छ ।
उक्त बच्चा करिब ४ देखि ५ दिनको समयान्तरमा पाठेघरमा आएर बस्छ । यो प्रजननको सामान्य प्रक्रिया हो । यदि डिम्बाशयमा अण्डा कम छ तथा डिम्बाशयमा कुनै पनि रोग छ भने बच्चा बस्दैन । साथै, ट्युब ब्लक भएको छ भने पनि बच्चा बस्दैन । पाठेघरमा फ्याबरोइट अथवा मासु पलाएको छ भने पनि बच्चा बस्दैन । कुनै पनि मानिसलाई थाइराइटको समस्या छ भने पनि बच्चा बस्दैन ।
स्त्रीरोग विशेषज्ञको परामर्शमा विभिन्न परीक्षण गरेपश्चात तथा एक विशेष टेस्ट इएमएचको परीक्षण गरेपश्चात सम्पूर्ण कुरा पत्ता लाग्छ ।
केही कारण र अवस्था ?
- गर्भ नबस्ने समस्या आधुनिक युगमा मात्रै आएको होइन । यो विगतदेखिकै समस्या हो । गर्भ नबस्नुमा महिलामा डिम्ब नबन्नु एउटा कारण हो । यस्तै, पुरुषको शुक्रकिटमा आउने खराबीले पनि गर्भ बस्न सक्दैन । पुरुषको शुक्रकिटमा खराबी र महिलाको डिम्ब नबनेर बाँझोपन हुने समस्याको दर बराबरी छ । सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये २५–३० पैतिशतमा महिलाको डिम्ब नबनेको समस्या देखिने गरेको छ ।
- महिलाको पाठेघरको नली बन्द हुनु पनि गर्भ नबस्ने कारणमध्ये एक हो । पाठेघरको नली बन्द भएर बाँझोपनको समस्या भोग्ने १५ प्रतिशत महिला छन् ।
- महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । यसकारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । जसका कारण बाँझोपनको समस्या देखिन जान्छ ।
- महिलाको ट्युबरक्लोसिस, पाठेघर नलीमा इन्फेक्सनजस्ता कारणले पनि गर्भ नबस्न सक्छ ।
- गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा लिनेको संंख्या बढेको पाइन्छ । युवायुवतीबीच हुने असुरक्षित यौनसम्पर्कले यस्तो समस्यालाई बढावा दिइरहेको छ । जुनसुकै कारणले भएपनि धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ र बच्चा नबस्ने खतरा हुन सक्छ । बसेको गर्भ पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । धेरै गर्भपतनले पाठेघरभित्रको आकार–प्रकार पनि विगार्छ र गर्भमा बच्चा बस्यो नै भने पनि पछि पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
बाँझोपनको समस्या भोगिरहेकाहरुले सबैभन्दा पहिले सम्बन्धित चिकित्सककँहा गएर बच्चा नहुनुको कारण पहिल्याउनुपर्छ । श्रीमानको शुक्रकिटमा खराबी छ भने बढाउनतिर लाग्नुपर्छ वा कृत्रिम गर्भाधान गर्नुपर्छ त्यस्तै श्रीमानै शुक्रकिट लिएर टेस्ट्युब बेबी जन्माउन पनि सकिन्छ ।
श्रीमतीको डिम्ब नै नबन्ने समस्या छ भने डिम्ब बन्ने औषधि खान सकिन्छ । पाठेघरमा इन्फेक्सन छ भने उपचार गर्नुपर्छ ।
श्रीमान–श्रीमतीमा कुनैपनि समस्या नै देखिएन, तर बच्चा पनि रहन सकेन भने कृत्रिम गर्भाधान नै विकल्प हुन्छ वा टेस्ट्युव बेबी प्रविधि अपनाउन सकिन्छ ।
(डाक्टर सँगको अन्तर्वार्ता र एजन्सीको सहयोगमा )