बाँके । लुम्बिनी प्रदेशमा एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले भयावह स्थिति निम्त्याएको तथ्याङ्कले देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, नेपालमा २८ प्रतिशत मानिसले स्वास्थ्यकर्मीको सिफारिसबिना औषधि प्रयोग गर्ने गरेका छन्। यसैगरी, २२ प्रतिशतले प्रयोगकर्ताले एन्टिबायोटिक औषधिको डोज नपुर्याई छाड्ने र ७० प्रतिशतले कडा खालका औषधिको अत्यधिक प्रयोग गर्ने गरेको पाइएको छ। यसले भविष्यमा सामान्य संक्रमण पनि जटिल हुन सक्ने जोखिम बढाएको डब्लुएचओले जनाएको छ।
लुम्बिनी प्रदेशमा “बुझौँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ” भन्ने नाराका साथ “प्रति जैविक प्रतिरोध सचेतना सप्ताह” मनाइएको छ। स्वास्थ्य निर्देशनालयका कन्सल्टेन्ट कम्युनिटी फिजिसियन डा। अच्युत न्यौपानेका अनुसार, जथाभाबी एन्टिबायोटिक प्रयोग, अधुरो उपचार र अत्यधिक औषधि सेवनले सङ्क्रमणको उपचारलाई कठिन बनाएको छ।
कार्यक्रमका क्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले भने “स्वास्थ्य क्षेत्रका सबै पक्ष संवेदनशील बने मात्रै स्वस्थ समाज निर्माण सम्भव छ। समुदायमा जनचेतना फैलाउन सरकारले कदम चालिसकेको छ।”
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नका लागि सरकार मात्र नभइ समुदाय र व्यक्तिहरू पनि जिम्मेवार बन्नुपर्ने सरोकारवालाहरूको धारणा छ। मेडिकल व्यवसायी कृष्ण शर्माले भने, “यदि अहिले नै सही कदम चालिएन भने सामान्य संक्रमण पनि भविष्यमा गम्भीर समस्या बन्न सक्छ। सही सूचना र जनचेतना अभियानले मात्र यो समस्या समाधान गर्न सक्छ।”
स्वास्थ्यकर्मी र व्यवसायीहरूको सुझाव अनुसार, सामान्य रोगमा पनि एन्टिबायोटिक प्रयोग गर्नु गलत हो। रुघाखोकी वा सामान्य सङ्क्रमणको उपचार बिना एन्टिबायोटिक गर्न सकिन्छ भन्ने सन्देश समुदायमा पुर्याउन जरुरी छ।