काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा भइरहेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उनले भने, “अपुग स्रोतकै कारण चाहेका कति कार्यक्रम लागू गर्न सकिएको छैन, राज्यले छुट्ट्याएको बजेटभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ भन्ने प्रयास गर्नुपर्छ ।” उनले भएकै बजेट पनि उचित कार्ययोजना नभएका कारण खर्च हुन नसकेको बताए ।
उनले भने, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभूति गर्न सक्छौँ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरूलाई समाजले फरक ढङ्गबाट बुझ्न सक्नुपर्छ । मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर । यसले देशको सेवा गरिरहेको छ । यसले समाजमा धेरै ठुलो योगदान पुर्याएको छ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’
उनले सर्वसाधारणले अस्पतालको सेवा विश्वास गर्ने हुनाले अस्पतालको सरसफाइमा ध्यान दिन, कुन सेवा कति शुल्क लिने भनेर खुलाएर वेबसाइट वा बोर्डमा राख्न, स्वास्थ्यकर खाना खुवाउनमा ध्यान दिन आवश्यक रहेको बताए । मन्त्री पौडेलले अस्पताललाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन प्रयत्न गर्नमा जोड दिनुपर्ने बताए ।
मन्त्री पौडेलले एक लाखको बिमालाई ५ लाख पुर्याउने, श्रोतको पक्षबाट बिमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताए । उनले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्यधिक घाटामा रहेको बताए ।
वार्षिक रुपमा हुने यो समीक्षा बैठकमा गत आर्थिक वर्षका उपलब्धि र प्रगतिको समीक्षा एवं भावी योजनाका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा लगायतका पदाधिकारीको उपस्थिति रहेको छ । बैठक शुक्रवारसम्म सञ्चालन हुनेछ ।