बाँके । बाँकेको खजुरा गाउँपालिकालाई लक्षित गरी ८ स्थानमा निःशुल्क आँखा जाँच शिविरबाट १ हजार ३ सय १३ जनाले सेवा लिएका छन् ।
नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज, खजुरा गाउँपालिका स्वास्थ्य शाखा र रुइत फाउन्डेसन काठमाडौँको संयुक्त सहकार्यमा भएको शिविरमा मोतिया बिन्दुको अप्रेसन गर्नुपर्ने २ सय ६८ बिरामी फेला परेका छन् ।
सामान्य बिरामीहरूलाई शिविरमै औषधि उपचार प्रदान गरिए पनि अप्रेसन गर्नु पर्नेहरूका लागि भने नेपालगन्ज फुल्टेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा रिफर गरिएको छ ।
रिफर गरिएका २ सय ६८ बिरामीलाई निःशुल्क अप्रेसन गर्ने कार्य पनि सुरु भइसकेको अस्पतालले जनाएको छ । खजुराको वडा नम्बर १ र २ मा रहेको राधापुर र सीतापुर स्वास्थ्य चौकीमा पहिलो दिन शिविर सञ्चालन गरिएको थियो ।
जसमा ३ सय ५१ जना बिरामीको परिक्षण गरिएकोमा ७३ जना मोतिया बिन्दुका बिरामी फेला परेको फत्तेवाल आँखा अस्पतालका नेत्र अधिकृत छन्दुलाल थारूले जानकारी बताए । १० गते सोमबार वडा नम्बर ३ र ४ मा रहेको आधारभूत स्वास्थ्य चौकी ई गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा सञ्चालित शिविरबाट ३ सय १५ जनाले सेवा लिएका थिए ।
शिविरबाट ५० जनाको मोतिया बिन्दुको पहिचान भयो । अन्यको भने सामान्य उपचार गरिएको अस्पतालका नेत्र अधिकृत उमेर सादिकले जानकारी दिए । ११ गते मङ्गलवार वडा नम्बर ५ र ६ मा रहेको उढरापुर र गिजरा स्वास्थ्य चौकीमा गरिएको शिविरमा २ सय ७६ जना बिरामीले ओपिडी सेवा लिएका थिए ।
जसमध्ये ५३ जनालाई फेत्तेवाल आँखा अस्पतालमा मोतिया बिन्दुको अप्रेसनका लागि रिफर गरिएको नेत्र अधिकृत सादिकले बताए । १२ गते बुधबार अन्तिम दिन वडा नम्बर ७ र ८ मा रहेको सोनपुर र रनियापुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएकोमा ३ सय ७१ जनाले ओपिडी सेवा लिन पाएका थिए ।
सोनपुर र रनियापुरमा मात्रै मोतिया बिन्दुका ९२ जना बिरामी अप्रेसन गर्नुपर्ने फेला परेको नेत्र अधिकृत सादिकले बताए । आर्थिक अवस्था नाजुक भएकै कारण आफ्नो आँखाको मोतिया बिन्दुको उपचार गराउन नसकेका बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका ७६ वर्षीय बिर्जुर तामाङ, खजुरा–५ उढरापुर निवासी जन्नतुन, खजुरा–४ ई गाउँ बस्ने ५९ वर्षीय सन्तकला सुनार लगायतले शिविरमार्फत निःशुल्क अप्रेसन गराउन पाएक हर्षित बनेका छन् ।