अहिलेका बालबालिकालाई आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । एउटा त यसले बच्चाको स्वाथमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ ।
अनि युवावस्था नपुग्दै उच्च रक्तचाप, मधुमेहको शिकार हुन्छ । प्याकेटका खानेकुरालाई राम्रोसँग सुरक्षित राख्न बढी नून र चिनी दुबै हालेको हुन्छ । बच्चाको सानो मृगौलामा त्यसले नराम्रो असर पर्छ । जब स्कुल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे, दुनोट हालेको देख्छु मेरो मन कटक्क काट्छ । कतिलाई त भन्ने गर्छु, “तपाईंले बच्चालाई मन परेको भनेर यस्ता खाना दिनुहुन्छ । तर यसले त बच्चालाई मन्द विषको काम गर्छ । मिर्गौला, मुटु, आद्रा सबै विस्तारै खराब हुँदैं जान्छ ।”
यसो भन्दा कतिले ‘ए हो हामीलाई थाहा थिएन’ भनेर बच्चाको हातबाट खोस्छन् पनि, कतिले चाही पल्र्लक्क आँखा पल्ट्याउँदै भन्छन्, ‘तपाईलाई के चासो, मेरो छोराछोरीलाई म जे मन लाग्छ दिन्छु ।’ कतिले चाँही “हो हामीलाई थाहा छ, तर के गर्नु बच्चाले रोएर, मान्दैमान्दैन, अनि दिक्क लागेर दिन्छु” भन्छन् ।
त्यस्ता बाबुआमालाई मेरो एउटै प्रश्न हुन्छ, “के तपाईको बच्चाले रक्सी र चुरोट खान्छु भनेर लडीबुडी गरे दिनुहुन्छ रु” तुरुन्तै जवाफ आउँछ, “अहँ, दिन्न नि, त्यो त स्वास्थ्यको लागि खराब हुन्छ ।” भन्छन् अनि म भन्छु” हो, त्यसरी नै यस्ता प्याकेटका खानाले तपाईंको बच्चालाई हानि गर्छ । भोलि स्वस्थ्य युवायुवती बन्नुको सट्टा उनीहरु रोगी बन्छन् ।”
गाउँ र शहरमा बालबालिका र शिशुको खानेकुरा भनेर महङ्गो बट्टा र प्याकेटमा बेचेको देख्दा प्रायः बाबुआमाले हो त नि त्यस्तै खाना बच्चालाई दिए बच्चा शारीरिक र मानसिक रुपमा स्वस्थ बन्छ भन्ने विचार राख्छन् । अनि कतिचोटी सञ्चारमाध्यमहरुमा बजारका प्याकेटका खानाको विज्ञापन आउँछ, “बच्चा एक वर्षको भएपछि घरको खानाले पुग्दैन । घरको खानामा प्रोटीन र भिटामिन हुँदैन । त्यसैले प्याकेटका खाना नै खुवाउनुपर्छ ।” विज्ञापनको प्रभावमा परेर यस्ता प्याकेटका खाना बच्चालाई दिनु हुँदैन । यस्ता खाना त गहुँ, चामल, मकैबाट नै बनाइएका हुन्छन्,। फेरि यस्ता प्याकेटमा राखेका अन्न कुहिएका वा म्याद नाघेको हुन्छन् कसलाई थाहा नै हुँदैन । त्यसैले शिशु र बालबालिकालाई आफ्नै भान्छाको खाना दिनुपर्छ ।
पास्नीपछि जब शिशुलाई अन्न दिन सुरु गरिन्छ, त्यसपछि थोरै थोरै चामलको पिठोको हलुवा खुवाउन सकिन्छ । शिशुलाई खान दिंदा उसलाई पहिले स्वाद लाग्दैन । शुरुशुरुमा थु थु गर्छ होला, तर विस्तारै धैर्यपूर्वक खुवाउनै जानुपर्छ । शिशुले खाएन भनेर धेरै चिनी हालेर खुवाउँदा एकछिन त शिशुले खान्छ तर चिनीले उसको स्वास्थमा राम्रो प्रभाव पार्दैन । चामलको पिठो, गहुँको पिठो आदिबाट हलुवा, लिटो बनाएर शिशुलाई खुवाउन शुरु गर्न सकिन्छ । गहुँ र चामलका पिठो, सुजी त प्रत्येकको भान्छामा हुन्छ । एक चम्चाबाट खुवाउन शुरु गरेर विस्तारै बढाउन सकिन्छ । शिशुको पेट सानो हुन्छ, त्यसैले एकैपल्ट धेरै खुवाउनु हुँदैन भन्ने हेक्का त राख्नै पर्छ ।
आलुलाई उसिनेर लिटो जस्तो बनाएर शिशुलाई खान दिने चलन त पुरानै हो । आलु शिशु र बालबालिकाको लागि शक्ति र विभिन्न किसिमका भिटामिन दिने राम्रो भोजन हो । तर आलुलाई बेस्सरी तेलमा तारेर वा फ्रच फ्राई जस्तो गरेर दिनु हुँदैन । शिशुलाई दिने लिटो फलामको भाँडामा पकाउन सकियो भने पनि लौहतत्व प्राप्त हुन्छ । दूध शिशुको लागि राम्रो भोजन हो वा त्यसमा लौह तत्व हुँदैन । यदि दूधलाई फलामको भाँडामा उमालेर शिशुलाई खान दिइयो भने त्यसबाट पनि शिशुलाई लौहतत्व प्राप्त हुन्छ । शिशु एक वर्षको भएपछि अलिकता दाँत आउन थालेपछि जब केही टोक्न खोज्छ उसलाई सानो, टुक्रा गाजर टोक्न दिन सकिन्छ । शिशुलाई गाजर, फर्सी, लौका आदि उसिनेर, मुछेर गिलो बनाएर दिन सकिन्छ । यी सबै तरकारी विभिन्न खनिज तत्वले भरिपूर्ण हुन्छन् र यसको प्रयोगले गर्दा शरीरमा रेशादार पदार्थ पनि पुग्छ । रेशादार पदार्थले शिशु र बालबालिकालाई कब्जियतबाट बचाउँछ ।
कतिपय बाबुआमाले बच्चालाई बाहिरका भिटामिन, क्याल्सियम, प्रोटिन आदि औषधिको रुपमा खान दिनुपर्छ भन्ने विश्वास गर्छन् । अनि बच्चाका लागि भिटामिनका ठूलाठूला बोतल किनेर ल्याउँछन् र बच्चालाई राम्रो स्वास्थ्य दिएका छौँ भनेर खुशी हुन्छन् । तर ५० वर्षअघि जब नेपालमा भिटामिनका सिसी पाइँदैनथ्यो, हाम्रा बाबुआमाले त हामीलाई राम्रो स्वास्थ हुर्काएका थिए । यो घरकै खानाबाट सम्भव भएको हो भन्ने कुरा बिर्सन हुँदैन ।
गाउँघरमा अहिले कतिपय आमाले चाउचाउ, बिस्कुट, कुरमुरे आदि अनेकथरिका भिटामिन पाइन्छ भनेर सुनेका हुन्छन् र उनीहरुले छ महिनाको शिशुलाई चाउचाउ पकाएर दिन्छन् । मेरो मन काटिन्छ । यस्तो देखेको बेलामा त अभिभावकलाई भन्छु प्याकेटको कुराले तपाईको बच्चाको स्वास्थ साह्रै नराम्रो पार्छ, नदिनोस् । उनीहरु छक्क पर्छन्, कतिले त मैले झुटो बोलेको ठान्छन् । शहरका अभिभावकहरुलाई चाहीँ शायद शिशुलाई भोजन भान्छामा बनाएर ख्वाउन फुर्सद हुँदैन, अनि बाहिरका प्याकेटका खानाको भर पर्छन् । जब बच्चा बिरामी पर्छन् तब डाक्टर र अस्पतालमा जाँदा जसरी भएपनि फुर्सद निकाल्छन् ।
शिशु र बालबालिकालाई तरल पदार्थ दिने नाममा विभिन्न थरिका बट्टाका फलफूलका रस दिने चलन पनि बढ्दो छ । तर यस्ता जुसमा ८० प्रतिशतसम्म चिनीको मात्रा हुन्छ । यसले बच्चालाई एकछिन गुलियो स्वाद त दिन्छ तर कुनै पौष्टिकता दिदैन, हानी नै पु¥याउँछ । यसरी फलफुलको रस बनाउने कारखानामा कुहिएका, सडेका फलफूल पनि प्याकेटमा राखेपछि केही थाहा हुन्न । बालबालिकालाई मौसम अनुसारको कुनै पनि फलफूल अमला, अम्बा, नास्पती, आँप, लिची नै दिए स्वस्थ्य रहन मद्दत गर्छ ।
साना शिशुलाई त अभिभावकले आफूले चाहेअनुसार पौष्टिक तत्वले भरिपूर्ण भोजन दिन सक्छन् तर जब बच्चा स्कुल जान थाल्छ तब उसलाई घरको खानेकुराभन्दा बाहिरको प्याकेटको खानेकुरा खान मन लाग्ने हुन्छ । उनीहरु अरुको देखासिकी गरेर र विज्ञापनको प्रभावमा परेर प्याकेटको खानेकुरामा आकर्षित हुन्छन् । ‘टाइम्स अफ इण्डिया’ पत्रिकामा केही समयअघि प्रकाशित लेखमा प्याकेटमा राखेका खानेकुराहरुमा स्वाद बढाउन विभिन्न रसायनिक पदार्थ र चिल्लो पदार्थ राखिएको हुन्छ, जसले गर्दा खानेकुरा लामो समय बिग्रन दिदैन र खानेकुरा सधैँ ताजा जस्तै त देखिन्छन् तर वास्तवमा यी हानिकारक नै हुन्छन् भनी उल्लेख गरिएको थियो ।