काठमाडौँ । आज ३७औँ विश्व एड्स दिवस एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । यस दिवसको नाराको मुख्य उद्देश्य विश्वभरि तथा समुदायसँग हातेमालो गरी विश्वबाटै एड्सलाई अन्त्य गर्ने जनचेतना जगाउनु हो ।
विश्वभरि एचआईभीका कारण हुने नयाँ सङ्क्रमण र मृत्यु उल्लेखनीय सङ्ख्यामा घटेको छ। नेपालमा सन् २०१० यता एचआईभी सङ्क्रमण ७५ प्रतिशतले घटेको छ। तर एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम यूएनएड्सले हाम्रो संसार एड्सलाई सार्वजनिक खतराबाट हटाउने बाटोमा नपुगेको चेतावनी दिएको छ। सन् २०१० यता एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घटेको छ भने एड्सबाट ज्यान जाने मानिसको सङ्ख्या आधाले घटेको छ।
यद्यपि अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी सङ्क्रमणमा १०० प्रतिशतले वृद्धि भएको देखिएको छ। ७५% भन्दा बढीले घटेका देश नेपाल, केन्या, मलावी र जिम्बावेमा रहेका छन्। थप १८ वटा देशहरूले सन् २०१० देखि यता वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले न्यूनीकरण गरेका छन्।
सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२३ को अन्त्य सम्ममा विश्वभरिका झण्डै ४ करोड जना सङ्क्रमण भएको छ भने १ करोड ३० लाख नयाँ संक्रमित भएका छन् । तीमध्ये ६ लाख ३० हजार जनाको मृत्यु भइसकेको छ । एचआईभी सङ्क्रमण भएर बाँचिरहेकामध्ये ७७ प्रतिशतले वैकल्पिक थेरापीको उपचार लिइरहेका छन्।
केन्द्रका अनुसार नेपालमा सन् २०२३ को अन्त्यसम्म ३१ हजारभन्दा बढी बयस्क र १४ वर्षसम्मका १ हजार ३ सयभन्दा बढी बालबालिका एचआईभी संक्रमित व्यक्तिले जीवनयापन गरिरहेको अनुमान गरिएको छ भने ३ हजार २ सयभन्दा बढी नयाँ संक्रमित छन्।
“विश्व अझै पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रूपमा एड्स अन्त्य गर्ने लयमा छैन। किनभने विशेष गरी सीमान्तकृत समुदायहरूका लागि सेवासम्म पहुँचमा सबैभन्दा ठूलो खाडल छ। त्यस कारण एचआईभी रोकथाममा सङ्कट कायमै रहन्छ।”
नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन्। तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा संक्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ। यौनरोग लागेका व्यक्ति लाज, संकोच तथा सामाजिकरमनोवैज्ञानिक कारण समयमै स्वास्थ्य संस्थामा परीक्षणरउपचारका लागि आउँदैनन्। यसले गर्दा दीर्घ यौनरोगका कारण एचआईभी सर्ने धेरै सम्भावना रहन्छ।(बीबीसी सहयोगमा)