विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास, बोडी तथा मेथीलगायतलाई गेडागुडी भन्ने बुझिन्छ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । त्यसैले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । विशेषगरी, गेडागुडीलाई तरकारीका रूपमा या भुटेर प्रयोग गर्ने प्रचलन छ । गेडागुडीलाई सही तरिकाले सेवन गर्दा अझ बढी फाइदाजनक हुन्छ । गेडागुडीलाई टुसा उमारेर खाँदा निकै उत्तम हुन्छ ।
गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ ।
- गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल, भिटामिन पनि बढेर जान्छ ।
- नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टर जस्तै– आइरन जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका तत्वलाई यसले सोस्न दिँदैन । जसले गर्दा एनिमायसम्मको समस्या पनि हुन्छ । यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।
टुसाउने विधि
गेडागुडी टुसाउनका लागि पहिला भिजाउनुपर्छ । यसका लागि करिब २४ घन्टा पानीमा गेडागुडी राख्नुपर्छ । १२–१२ घन्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ । र, एक ठाउँमा राख्नुपर्छ । करिब एक हप्तामा टुसाएको गेडागुडी प्रयोग गर्न सकिन्छ ।
हतार भएमा एक मिनेटजति पानीमा उमालेर मनतातो पानीमा राखी दुई–तीन घन्टामै भिजाउन पनि सकिन्छ । चना, केराउ, मेथीलगायतलाई टुसाएर प्रयोग गर्न सकिन्छ । यसरी टुसाएको गेडागुडी काँचै, भुटेर, तरकारीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । यसमा नुन, खुर्सानी, टमाटर, कागतीलगायत राखी साँधेर पनि प्रयोग गर्न सकिन्छ ।
यसरी नखाऔँ
अरू खाद्यपदार्थलाई फ्रिजमा राखेर वा अरू तरिकाले सुरक्षा गरिन्छ । तर, गेडागुडीलाई त्यसरी सुरक्षा गर्ने प्रचलन छैन । त्यसै बाहिर राखिएको गेडागुडीमा ब्याक्टेरिया र कीटाणु बढेर जान्छ । जसले गर्दा सीधै प्रयोग गर्दा स्वास्थ्यमा असर पर्छ । भिजाएर वा टुसा उमारेर गेडागुडी प्रयोग गर्दा त्यस्तो समस्याबाट पनि बच्न सकिन्छ ।