काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर पाठेघरको मुखको क्यान्सर रोकथामका लागि महिलाको परीक्षण गरिने भएको छ ।
मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा। विवेककुमार लालले जानकारी दिए ।
‘क्यान्सरको उपचारसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ’, लालले भने, ‘यस वर्ष अभियानकै रुपमा एकैसाथ परीक्षण गर्न लागेका हौं ।’
नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार २५५ नयाँ बिरामी भेटिएका छन् ।
हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसलाई नियन्तण गर्न उक्त अभियान सन्चालन गर्न लागिएको लालले बताए। यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए ।
यसैगरी अब्जरभेटरीका अनुसार विश्वभर प्रति एक लाख बिरामीमा सात जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।
विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियान समेत सञ्चालन हुँदैछ । १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीले खोप पाउँछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप दिने सरकारले तयारी थालेको छ ।