मानिसको जीवनशैली तथा खानपानमा आएको परिवर्तनसँगै दिनहुँ विश्वमै मुटु रोगीहरुको संख्या बढ्दै गएको छ । मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक बनेको छ। विश्व स्वास्थ्य संगठन(WHO) अनुसार प्रत्येक वर्ष अनुमानित करिब डेढ मिलियन मृत्यु हृदयघातबाट भईरहेको छ । बुढाबुढी होस् वा युवा, पुरुष तथा महिला सबैमा हृदयघातबाट हुने मृत्युको आँकडा बढ्दो छ । महिलामा भन्दा पुरुषमा हृदयघातको सम्भावना किन बढि हुन्छ ?कस्तो अवस्थामा हृदयघात प्राणघातक हुन्छ? जाडोमा हृदयघातको उच्च जोखिम किन हुन्छ ? यसै विषयमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका मुटुरोग विशेषज्ञ डा राजन कर्ण सँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् :
हृदयघात के हो ?
हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो । हृदयघात (मायोकार्डियल इन्फार्क्शन) भनेको मुटुको मांसपेशीमा रगत आपूर्ति गर्ने धमनी (कोरोनरी आर्टरी)अचानक बन्द हुँदा हुने अवस्था हो। यसले मुटुलाई पर्याप्त अक्सिजन र पोषण नपुग्ने कारणले मांसपेशीको कोषिकाहरू मर्न थाल्छन् जसलाई हृदयघात अर्थात Heart attack भनिन्छ ।
हृदयघातका कारण
हृदयघात धेरै कारणले हुने गर्दछ । यसका लागि विभिन्न जोखिमका तत्वहरू (Risk Factors) छन्। यी जोखिमका तत्वहरू दुई प्रकारका हुन्छन्स् संशोधन योग्य (modifiable) र संशोधन योग्य नभएका (non-modifiable)।
संशोधन योग्य जोखिम तत्व (Modifiable Risk Factors):
- धूम्रपान (Smoking)
- अस्वस्थ आहार (Unhealthy Diet)
- शारीरिक निष्क्रियता (Physical Inactivity)
- उच्च रक्तचाप (Hypertension)
- उच्च रक्तकोलस्ट्रोल (High Cholesterol)
- मधुमेह (Diabetes)
- तनाव (Stress)
- अधिक वजन (Overweight/Obesity)
संशोधन योग्य नभएका जोखिम तत्व (Non-modifiable Risk Factors):
यी तत्वहरूलाई परिवर्तन गर्न सकिदैन र ती प्राकृतिक वा आनुवंशिक कारकहरूको परिणाम हुन्छ।
- उमेर (Age)
- लिङ्ग (Gender)
- आनुवंशिकता (Family History/Genetics)
- जातीयता (Ethnicity)
किन महिलाभन्दा पुरुष बढी जोखिममा हुन्छन् ?
महिलाहरुमा पुरुषको तुल्नामा १०/१५ बर्ष पछि मात्र हृदयघात हुने गर्दछ । पुरुषमा धूम्रपान, मद्यपान, र तनावजन्य जीवनशैली धेरै हुने हुन्छ। पुरुषमा युवावस्था देखिनै तनाव, मोटोपना, अस्वस्थ खानपिनको कारणले पनि पुरुषलाई बढी जोखिम हुन्छ।अर्को कारण भनेको महिलामा महिनावारीको समयमा एस्ट्रोजेन हार्मोनले धमनीको स्वास्थ्यलाई जोगाउँछ, जसले हृदयघातको जोखिम कम गर्दछ। पुरुषमा रक्तचाप र कोलेस्ट्रोलको समस्या छिटो देखिन्छ। त्यसैले पनि पुरुषमा युवावस्थामा र महिलामा बढी उमेर हुँदा हृदयघात हुने जोखिम बढी हुन्छ । तर महिनावारि सुके पछि (पोस्टमेनोपज) महिलामा पनि हृदयघातको सम्भावना उतिकै बढेर जान्छ ।
किन पछिल्लो समय महिलामा मुटु समस्या बढ्दैछ ?
अहिलेको व्यस्त जीवनशैली, करिअर र अन्य कुराको तनाव,अस्वस्थ खाना, मधुमेह र छिटो महिनावारी रोकिएपछि (मेनोपज)एस्ट्रोजेनको मात्रा घटेर हृदयघातको जोखिम बढ्दै गइरहेको छ । अहिले महिनावारि रोक्ने औषधिको अत्याधिक प्रयोगले पनि महिलामा हृदयघात बढि रहेको पाईन्छ । त्यस्तै, शारीरिक कसरत कम, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने, मदिरापान बढी गर्ने महिलाहरूको संख्या बढ्दै गएको, मोटोपन (PCOS) र परिवारमा मुटु सम्बन्धी रोगको इतिहास भएका पनि उत्तिकै हृदयघातको जोखिम मानिन्छ ।
हृदयघात हुनुअघि शरीरले कस्तो संकेत देखाउँछ ?
हृदयघात भनेको अचानक हुने समस्या हो । जहाँ जहिले पनि हृदयघात हुन सक्छ । तर कति पयमा भनेबायाँ छातीमाच्यापिने वा दुख्ने, बायाँ हात, घाटी, जिउ, वा ढाडमा दुखाइ र्सनु , स्वास फेर्न गाह्रो हुनु, पसीना धेरै आउने, वाकवाकी वा बान्ता हुने अचानक चक्कर लाग्ने,बेहोस हुने हुन्छ । कसै कसैमा भने बिना दुखाइ हृदयघात हुन सक्छ त्यसलाई ‘साइलेन्ट हार्टअट्याक’ पनि भन्ने गरिन्छ ।
कस्तो अवस्थामा हृदयघात प्राणघातक हुन्छ ?
हृदयघात हुनुभन्दा अगाडि साधारण लक्षणहरु देखिने गर्छन । अधिकांश मानिसले शुरुवाती चरणमा देखिने लक्षणलाई सामान्य मानेर घरमै बसिरहन्छन् । जसका कारण हृदयघात जस्तो ठुलो रुप लिन्छ । मुटुमा रगतको आपूर्ति पूर्ण रूपमा बन्द हुँदा, प्राथमिक उपचार ढिलो हुँदा, बिरामीमा पहिले नै मुटु वा अन्य दीर्घरोग (जस्तै मधुमेह, उच्च रक्तचाप)भएको अवस्थामा, घातक अतालता (Fatal Arrhythmia) को कारण मुटु असफल हुँदा हृदयघात प्राणघातक हुन जान्छ ।
जाडो मौसममा हृदयघात धेरै हुने हो ?
हो, जाडो मौसममा हृदयघातको जोखिम बढि हुन्छ । चिसोले शरिरको तापक्रम कम हुने भएकोले रक्तनली साँघुरो हुन्छ, जसले गर्दा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने हुन्छ, शरीरलाई चिसोबाट जोगाउन मुटुले बढी मेहनत गर्नुपर्छ, अक्सिजनको कमी हुने सम्भावना, त्यसैगरी अरु कारणहरू जाडो महिनामा शारीरिक व्यायाममा कमी, धूम्रपान मद्यपानको बढि प्रयोग, मानसिक दबाब, खानपानमा खराबी र जाडोका कारण श्वासप्रश्वासमा समस्या, निमोनियाका कारण पनि ह्दयाघातको खतरा बढ्छ । चिसो समयमा प्रायः रक्तचाप, मधुमेह र कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ । यतिबेला कतिपय बिरामीलाई औषधि परिवर्तन गर्नु हुनसक्छ । त्यसैले त्यस्ता रोगीहरूले समय–समयमा चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
कसरी बच्ने ?
- नियमित रूपमा रक्तचाप, कोलेस्ट्रोल र रक्त चिनी जाँच गर्ने र नियन्त्रण गर्ने,
- स्वस्थ खाना (कम तेल, नुन, चिनी),
- दैनिक व्यायाम गर्ने, हप्ताको छ दिन ३० मिनेट पसिना आउने गरी व्यायाम गर्नुपर्ने हुन्छ,
- धूम्रपान र मद्यपान नगर्ने,
- तनाव घटाउने (योग, ध्यान) गर्ने,
- चिसो मौसममा शरीरलाई न्यानो राख्ने
- कुनै पनि असामान्य लक्षण देखिएमा तुरुन्त डाक्टरसँग परामर्श गर्ने
- हृदयलाई स्वस्थ राख्न सही जीवनशैली अपनाउनु सबैभन्दा प्रभावकारी उपाय हो।
स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । यदि कसैलाई हृदयघात भएको छ भने उसले नजिकैको कार्डियक सेन्टरमा गएर चिकित्सकको सल्लाह अनुसार एन्जियोग्राफी(Angiography) गर्नुपर्छ र सम्भावित एन्जियोप्लास्टी(Angiography)गर्नुपर्छ । स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा, चुरोट मदिरा सेवन गर्नु हुँदैन र आफ्नो वजन बढ्न दिनु हुन्न ।