बाँके । नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले तलब वृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
पहिलो चरणको आन्दोलनमा माग पूरा नभएपछि कर्मचारीहरूले अब कडा कदम चाल्दै पुस ५ गतेदेखि इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा तथा शैक्षिक कार्यक्रमहरू बन्द गर्ने घोषणा गरेका छन्।
आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीका अनुसार पुस ३ र ४ गते ओपिडी सेवा र शैक्षिक कार्यक्रमहरू दिउँसो १ बजेसम्म मात्रै सञ्चालन गरिनेछ। उनले भने । ‘पुस ५ गतेदेखि अस्पताल र कलेज परिसरमा भेला तथा कोणसभा गर्दै सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम तय गरिएको छ।’
कर्मचारीहरूले गत असार ४ गते तलब, सेवा, सुविधा, तथा संस्थागत सुधारका लागि अस्पताल प्रशासनलाई सात बुँदे मागपत्र बुझाएका थिए। पटक पटक वार्ता र ताकेता गरे पनि अस्पताल व्यवस्थापनले मागप्रति बेवास्ता गरेपछि मङ्सिर २६ गते पहिलो चरणको आन्दोलन सुरु गरिएको थियो।
पहिलो चरणअन्तर्गत मङ्सिर २६ देखि २९ गतेसम्म कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए। त्यसपछि मङ्सिर ३० गते अस्पताल प्रशासन, लेखा, र एकेडेमी कार्यालयमा तालाबन्दी गरिएको थियो।
कर्मचारीहरूले आन्दोलनलाई वार्ता र सहमतिको ढोकासँगै अगाडि बढाएको बताएका छन्। उनीहरूले आन्दोलनका क्रममा कुनै क्षति भएमा जिम्मेवारी अस्पताल व्यवस्थापनले लिनुपर्ने चेतावनी दिएका छन्।
नेपालगन्ज मेडिकल कलेजका वार्ता टोली संयोजक श्यामकुमार शर्माले संस्थाले घाटा व्यहोरिरहेको कारण तलब वृद्धि गर्न नसकिने बताए। तर, कर्मचारीहरूले सरकारको मङ्सिर २७ गतेको निर्णय अनुसार न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गरेका छन्।
नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करारमा करिब १,१०० कर्मचारी कार्यरत छन् । कर्मचारीहरूले सरकारको निर्णयअनुसार तलब वृद्धि र सेवा सुविधाको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
कर्मचारी र व्यवस्थापनबीचको विवाद समाधान गर्न वार्ताको आवश्यकता रहेको सबै पक्षले औँल्याएका छन्।